पोखरा । नेकपा एमालेले आज कास्कीसहित देशैभर जिल्लास्तरीय जनसभा गरेको छ । लोकतन्त्रको रक्षा र  संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्लास्तरीय जनसभा गरेको हो ।

यसैक्रममा नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा पोखरा पृथ्वीचोकमा भएको जनसभालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले संसद् पुनर्स्थापना गर्नुपर्ने र संसद् पुनर्स्थापनपछि मात्र जेनजीको माग पूरा गर्न सक्ने वातावरण बन्ने बताए ।

 उनले अहिलेको जेनजी आन्दोलनको जाँचबुझ आयोगले निष्पक्ष छानविन गर्न नसक्ने बताउँदै अहिलेको जाँचबुझ आयोग विघटन गरेर सबैको सहमतिमा उच्चस्तरीय छानविन समिति बनाउन उनले माग गरे ।
‘आज बलात्कारका केसमा, ज्यानकेसमा र चोरी डकैतीका केसमा गएका फरार छन्’अधिकारीले भने ‘प्रहरीका युनिफर्म र हतियार उनीहरूसँगै भएकाबेला चुनाव सम्भव छैन ।’

हतियार, पोशाक र गोलाबारुद फिर्ता नगरी चुनाव हुन नसक्ने उनको धारणा छ । उनले भनेका छन् ‘एमाले चुनाव विरोधी पार्टी होइन तर अध्यक्ष केपी ओलीलाई स्थानहदमा राखेर चुनाव हुन्छ भन्नु हाँस्यास्पद तर्क हो ।’

पार्टी अध्यक्षलाई राजधानी बाहिरका कार्यक्रममा जान नदिएर सरकार निरङ्कुश र लोकतन्त्र विरोधी भएको र व्यवस्था र संविधानको रक्षार्थ एमालेले आज देशभर जनसभा गरेको उनले जनाए ।

एमाले पोलिटब्युरो सदस्य जगत विश्वकर्माले नेपालको राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्न र मुलुकलाई अस्थिरतामा धकेल्नका लागि षड्यन्त्र भइरहेको आरोप लगाए ।

पोखरा पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति विष्णु पोखरेल भदौ २३ गते भएको जेनजी आन्दोलनमा आफूहरूले पनि ऐक्यबद्धता जनाएको तर अनुशासन बाहिर गएपछि पछि हटेको बताए । जेनजी आन्दोलनमा भारत, अमेरिकाको डिजाइन बुझ्न नसक्दा विध्वंस मच्चिन पुगेको बताउँदै देशी विदेशी तत्वहरूले नेपाललाई  सिक्किमीकरण गर्न चाहिरहेको आरोप लगाए । 

एमाले कास्की इन्चार्ज कृष्ण थापाले जेनजी आन्दोलनको २४ गते आतङ्ककारीहरूले जसरी व्यक्तिको सम्पत्तिमाथि तोडफोड र आगजनी गरेका छन् उनीहरु छिट्टै कारागारमा वा यमलोक पुग्ने दाबी गरे ।

एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भेषराज बरालले गरेका थिए भने सञ्चालन सचिव दर्शन लामाले गरेका थिए । सो अवसरमा सांस्कृतिक कार्यक्रम समेत भएको थियो । जसमा गीत प्रस्तुत लोकदोहोरी गायिका पार्वती जिसीले  गरेकी थिइन् ।  

यसअघि पोखरा नयाँबजार, सिर्जनाचोकबुद्धचोकबाट  र्‍याली निकालिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0