पोखरा । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पतालका रुपमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समयमै इमर्जेन्सी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । अस्पतालका निर्देशक सह प्राध्यापक डाक्टर प्रेम राज पँगेनीले डेढ वर्षमा सम्पन्न गर्नेगरी भवन निर्माण तथा सहरी विकास योजना अन्तर्गतको भवन पाँच वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको बताए । निर्देशक डा. पँगेनीका अनुसार अस्पतालमा हाल दैनिक २२ सय २५ सयको हाराहारीमा बिरामीहरू आउने गरेका छन् बिरामीको चाप बढ्दै गएपनि पर्याप्त बेड र कोठाहरू नहुँदा सेवा प्रवाहमा समस्या आउन थालेको हो ।
गण्डकी अस्पतालका रुपमा परिचित यो अस्पतालमा उपचारका लागि आउने मध्ये ६० प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकहरू रहेका छन् । तर स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा लिने बिरामीहरूले स्वास्थ्य बिमाको सर्भर सुस्त गतिमा चल्दा सास्ती भोग्नुपरेको छ । कहिलेकाँही बिमाको सर्भरले पूर्ण रुमा काम नगर्दा झनै समस्या पर्ने गरेको र यसबारेमा केन्द्रमा पटकपटक जानकारी गराएपनि सुनवाई नभएको निर्देशक पँगेनीले सुनाए ।
सीमित स्रोत साधनका बाबजुद पनि गण्डकी अस्पतालले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको निर्देशक पङ्गेनीको दावी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल १३ वटा विधामा चिकित्सा विज्ञानको अध्ययनअध्ययापन हुने गरेको छ ।
अस्पतालमा निर्माणाधीन अवस्थामा रहेको इमर्जेन्सी भवन निर्माणपश्चात् टिकट काउन्टर र बिलिङ काउन्टरलाई बढाइने योजना रहेकोले त्यसपश्चात् सेवा प्रवाहमा केही सहज हुने अस्पतालले जनाएको छ ।















