पोखरा । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराबाट असोज ९ गतेदेखि हालसम्म ६५ सयभन्दा बढि मतदाता थपिएका छन् । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार आज बुधबार दिउँसोसम्म ६५ सय मतदाता थपिएका हुन् । 

निर्वाचन आयोगले तोकेको समयावधि सकिनै लाग्दा मतदाता नामावली सङ्कलनका लागि पुग्नेको भिड समेत बढ्दै गइरहेको छ । हाल दैनिक ८ सय देखि ९ सय जना मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि कार्यालय पुग्ने गरेका छन् ।  न्यौपानेका अनुसार हाल प्रदेश निर्वाचन कार्यालयमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम भइरहेको छ । कार्यालयका सबै कर्मचारीहरू खटाएर चार वटा दर्ता स्थलमार्फत मतदाता नामावली सङ्कलन एवं अद्यावधिकको काम भइरहेको उनले बताए ।

निर्वाचन कार्यालय पोखरामा नाम दर्ताका लागि आउने मध्ये ८५ प्रतिशत जेनजी पुस्ताका युवाहरू रहेका छन् भने १५ प्रतिशत अन्य उमेर समुहका व्यक्तिहरू रहेका छन् ।

गण्डकी प्रदेशका अन्य जिल्लामा पनि मतदाताहरूको सङ्ख्या बढ्दै गइरहेको छ । सूचना अधिकारी न्यौपानेले गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा  औसतमा दैनिक एक सय पचास जनाले मतदाता नामावली दर्ता गराइरहेको जानकारी दिए । 

कार्यालयमा दिउँसोको समयमा भिड बढ्दा धेरैबेर लाइन बस्नुपर्ने भएकाले बिहान र बेलुकाको समयमा आउन तथा अनलाइन फर्म भरेर मात्र आउन आग्रह गरिएको छ । मतदाता नामावलीमा भएका त्रुटिहरू सच्याउन र ठाउँसारीका लागि भने कार्यालयमा नआउन र घरबाटै निवेदन दिन सकिने न्यौपानेले जनाए ।

मतदाताले अनलाइन फर्म भर्दा वा निवेदन पेस गर्दा निर्वाचन आयोगको इलेक्सन डट जिओभी डट एनपी को वेवसाईटमा गएर प्रारम्भिक जानकारीहरू पेस गर्न सक्नेछन् । अनलाइनमार्फत पेस गरिएका विवरणहरू भने नजिकैको निर्वाचन कार्यालयमा गएर, बायोमेट्रिक फोटो र औँठाछाप लिई नाम दर्ता गर्ने व्यवस्था रहेको छ ।

निर्वाचन कार्यालय पोखरामा आगामी निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थलहरू पुनरावलोकनको काम समेत तीव्र गतिमा भइरहेको जनाईएको छ । निर्वाचनमा पर्यवेक्षण गर्न चाहने संस्थाहरूलाई निवेदन दिनका लागि आह्वान समेत भइसकेको छ । निर्वाचन आयोगले  फागुन २१ गते मताधिकार प्रयोग गर्न मतदाताले र सहभागी हुन दलले यही कात्तिक ३० गते अर्थात् आउँदो आइतवारसम्मको समयसीमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0