पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको छ । रेडक्रस सोसाइटी कास्कीका डेङ्गी रोग सङ्क्रमण तथा सचेतना कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीका अनुसार रेडक्रस सोसाइटीले कास्कीमा डेङ्गीको सङ्क्रमण फैलन नदिन अभियानलाई तीव्र र प्रभावकारी बनाउँदै लगिएको हो ।
डेङ्गी पोथी एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट सर्छ । एडिस लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्ने गर्दछ। एडिस लामखुट्टेलाई लार्भा अवस्थामा नै नष्ट गर्न सकिएमा डेङ्गीको संक्रमण थप फैलन पाउँदैन । त्यसकारण रेडक्रस सोसाइटी कास्कीले लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्दै लगिएको फोकल पर्सन भण्डारीले बताए ।
उनका अनुसार अव्यवस्थित एवं सङ्कटापन्न समुदायसँगै विशेषगरी विद्यालयका विद्यार्थीमाझ डेङ्गीसम्बन्धी सचेतनासँगै खोज र नष्ट गर कार्यक्रम लैजाने गरिएको छ । यसबाहेक सामाजिक सञ्जालमार्फत सचेतनासामाग्रीहरू प्रसारण गरिएको र त्यो प्रभावकारी बनेको फोकल पर्सन भण्डारीले बताए ।
कास्कीमा गतवर्षको तुलनामा यो वर्ष डेङ्गी सङ्क्रमण निकै घटेको छ । गतवर्ष ६ जनाको ज्यान गएको थियो भने १२ हजार मानिसमा सङ्क्रमण देखा परेको थियो तर यसवर्ष हालसम्म ७ सयभन्दा कम मानिसमा मात्र सङ्क्रमण पुष्टि भएको फोकल पर्सन भण्डारीको भनाई छ । रेडक्रस सोसाइटी कास्कीले सरोकारवाला निकाय, जनस्वास्थ्य कार्यालयहरूसँगको सहकार्य र समन्वयमा रेडक्रसका ४८ उपशाखा, एक सय २३ जुनियर रेडक्रस सोसाइटी तथा स्वयम्सेवकमार्फत खोज र नष्ट गर अभियान सञ्चालन गरेकाले सङ्क्रमण कम हुन पुगेको उनको भनाई छ । गतवर्ष रोगको सङ्क्रमणमा परेका बिरामीमा घरपरिवारमार्फत समेत सचेतना फैलँदा सङ्क्रमण न्यूनिकरण गर्न सम्भव भएको उनले बताए ।
कास्कीसहित गतवर्ष गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतमा डेङ्गीको प्रकोप देखिएको थियो । एडिस जातका लामखुट्टे १८ डिग्री सेल्सियस माथिको तापक्रममा पाइन्छ । पोखराको मौसम एडिस जातका लामखुट्टेका लागि उपयुक्त हुने भएकाले घर वरपर जमेको पानी नफाल्ने हो भने र सावधानी नअपनाउने हो भने अझैपनि महामारीको रूप लिनसक्ने सम्भावना कायमै रहेको फोकल पर्सन भण्डारीले बताए । एडिस एजिप्टाई लामखुट्टेको अण्डा पानीबिना पनि लामो समय जीवित रहन सक्ने भएकाले जाडो महिना सकिएलगत्तै फेरी डेङ्गी बढ्नसक्ने भएकाले सचेत रहनुपर्ने उनले बताए ।
पोथी एडिस एजिप्टाई एक विशेष प्रकारको लामखुट्टे हो । यस लामखुट्टेले विशेष गरी बिहान बेलुका उज्यालो समयमा टोक्ने गर्छ । डेंगी हुँदा अचानक उच्च ज्वरो आउने, गम्भीर टाउको दुख्ने, जोर्नी र मांसपेशीहरूमा गम्भीर दुख्ने, आँखा पछाडि दुख्ने, ग्रन्थीहरू सुन्निने, वाकवाकी लाग्ने, बान्ता आउने, चिलाउने एवं थकाइ लाग्ने लगायतका लक्षणहरु देखा पर्दछन् ।












