पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा मादी ३, ४, ५ र ११ उपशाखाको व्यवस्थापनमा मादी ४ तारकाङमा अवस्थित ध्रुव माध्यमिक विद्यालयमा डेङ्गी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
तिहारपछि आएको पानी हाल रोकिएको र उक्त पानी खाल्टा खुल्टी तथा प्लास्टिक र सिसाजन्य बोतल एवम् विर्कोहरूमा पानी जम्मा भई लामखुट्टेहरूले बासस्थान वृद्धि गर्न सहयोग पुग्ने खालका गतिविधि भएका साथै घाम लागेसँगै तापक्रम पनि वृद्धि भएको कारण एडिजातका लामखुट्टेहरूको समेत सङ्ख्या वृद्धि भएको छ। यसैको वृद्धिलाई रोक्न विद्यालय तथा समुदायमा अभिमुखीकरणसँगै खोज र नष्ट गर अभियानलाई अगाडि बढाउने उद्देश्यका साथ सचेतना अभियान सञ्चालन गरिएको हो।
मादी ३, ४, ५ र ११ उपशाखा सभापति शुक्रराज सापकोटाको अध्यक्षता तथा मादी वडा नम्बर ४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। ध्रुव माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै ध्रुव माविमा समेत बिहीबार मात्र एकजना बिरामी रगत परीक्षण गर्दा डेङ्गी सङ्क्रमण भएको पुष्टि भएको पाइएको बताए । केही विद्यार्थी समेत लक्षणहरू देखिएको अवस्था रहेको भन्दै डेङ्गी सङ्क्रमण तथा रोकथाम सम्बन्धी महत्वपूर्ण कार्यक्रम यस विद्यालयमा ल्याई सञ्चालन गरेकोमा रेडक्रसप्रति धन्यवाद समेत व्यक्त गरे।
कार्यक्रममा वडा अध्यक्ष शिवप्रसाद सापकोटाले समुदायमा रेडक्रसले विपत तथा विपतजन्य र महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको बताए । स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम विद्यालयमा सञ्चालन गर्दा विद्यार्थीहरू मार्फत समुदायमा सचेतना हुने र समुदायमा हुनसक्ने यस्ता खालका सङ्क्रमण घटनको निम्ति महत्वपूर्ण भूमिका हुने बताए । यस्तो किसिमको महत्त्वपूर्ण गतिविधि अन्य छिमेकी विद्यालयहरूमा समेत लैजान अनुरोध गरे ।
डेङ्गी सङ्क्रमण कारणहरू, यसबाट बच्ने उपायहरू, डेङ्गी सङ्क्रमण भएमा देखिने लक्षणहरूका बारेमा सहजकर्ता सुनिता पौडेलले विद्यार्थी तथा शिक्षकहरूलाई सहजीकरण गरेका थिए। विद्यार्थी तथा शिक्षकहरूको अत्यन्तै सहभागितमूलक तथा प्रश्न उत्तरका माध्यमबाट समेत जान्ने प्रयास गरिरहेका थिए। उक्त कार्यक्रममा १०५ जनाको सहभागिता रहेको थियो।
रेडक्रसको अभियानसँगै डेङ्गी रोग सङ्क्रमणमा जुनियर रेडक्रसको भूमिकाका विषयमा सहजकर्ता नवराज भण्डारीले प्रशिक्षण कार्यक्रमको सञ्चालन समेत गरेका थिए ।











