पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो सक्रियता बढाउदै लगेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त बनेका संरचनाको पुन निर्माण सँगै प्रहरीले सक्रियता बढाउन थालेको हो । बुधबार पत्रकार र सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर आपराधिक कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने कार्य भइरहेको खुलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले दिएको जानकारी अनुसार जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्की लगायत प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी तथा प्रहरीका हातहतियार लुटपाट र हतियारहरू आगोमा जलाउने कार्यमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा हातहतियार लुटपाट गरी हिड्ने तथा आगोमा जलाउने कार्यमा संलग्न ४ जना, वडा प्रहरी कार्यालय बगरमा हतियारमा आगो लगाउने १ जना र प्रहरी चौकी नयाँपुल कास्कीमा आगजनी गर्ने ५ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीमा आई प्रहरी पोशाक दुरुपयोग गर्ने तथा हुलहुज्जत गर्ने ८ जना पनि पक्राउ परेका छन् । उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्दा धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले जेन जी आन्दोलनका क्रममा कास्की कारागार, जिल्ला प्रहरी कार्यालय र मातहतका केही प्रहरी कार्यालयबाट भागेका कैदीबन्दी र थुनुवा पनि पक्राउ परेको जनाएको छ । एसपी कार्कीले जनाए अनुसार कास्की कारागारबाट भागेका ७७३ कैदीबन्दी मध्ये हालसम्म ५२० जना पक्राउ परिसकेका छन् । यसैगरी बालसुधार गृह सराङकोटबाट भागेका १०६ जनामध्ये ९१ जना पक्राउ परेका छन् । कास्की प्रहरी कार्यालयबाट भागेका ६३ थुनुवामा ५ जना, वडा प्रहरी कार्यालय बगरबाट भागेका १२ मध्ये १ र वडा प्रहरी कार्यालय बैदामबाट भागेका ३३ थुनुवामध्ये २६ जना पक्राउ परेका छन् ।
कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडीफाई) ठूलो आवाज निकाली ध्वनि प्रदुषण गर्ने, समाजमा आतकिंत पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधि गरेको आरोपमा १३३ सवारी साधन पक्राउ गरिएको जनाएको छ । प्रहरीले गत असोज २७ साँझदेखि अप्रेसन ३६५ नाम दिएर मोडीफाई गरिएका मोटरसाइकल पक्राउ अभियान थालेको छ । पक्राउ परेकामध्ये २८ जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको छ भने १६ जनालाई सम्झाई बुझाई परिवारको जिम्मामा छाडिएको छ ।
अहिले प्रहरीले फरार कैदी र लुटिएका हतियारलाई ध्यान दिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूको ‘हिस्ट्री’ हेरेर समेत अनुसन्धान भइरहेको उनले खुलाए । एसपी कार्कीले आन्दोलन र अपराधलाई छुट्याएर अनुसन्धान गरिरहेको भन्दै आपराधिक गतिविधिमा संलग्न सबैलाई कानून बमोजिम कारबाहीको दायरमा ल्याउने दावी गरे । कास्की प्रहरीले आम सर्वसाधरणलाई सुरक्षाको अनुभुति दिलाउन निरन्तर प्रयास गरिरहेको भन्दै एसपी कार्कीले आन्दोलन अगाडिको अवस्थामा फर्काएर जनतालाई सुरक्षित वातावरण महशुस गराउनु पहल भैरहेको खुलाए ।















