पोखरा । युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको १६ औं साधारण सभाले १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने गरि मिति तोकेको हो ।

हालै सम्पन्न साधारण सभामा वोल्दै युनाइटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक कामका लागि पोखरा महोत्सवलाई निरन्तरता दिदैँ आइरहेको र आगामी १४ औं संस्करणको पोखरा महोत्सवमा समेत सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहँदा सङ्घर्षचुनौतीहरू थपिदै गइरहेको बताउँदै संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लब पोखरालाई राष्ट्रिय स्तरको क्लब बनाउनतर्फ अहिलेका पदाधिकारीहरू लाग्नुपर्नेमा जोड दिए । साथै क्लबले हाल आफ्नै जग्गा रहेको स्थान लेखनाथको अर्चलेमा आवासीय छात्रावास निर्माणको काम तीब्र गतिमा अगाडि बढिरहेको र आगामी वर्ष ५ जना छात्राहरू राखेर छात्रावासको सुरुवात गर्ने बताए ।

युनाइटेड क्लब पोखराका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लब १६ वर्षमा प्रवेश गर्दै गर्दा आगामी दिनमा शिक्षा क्षेत्रलाई अगाडि बढाउदै आवासीय छात्रावास निर्माणलाई नै जोड दिनुपर्ने धारणा राखे । सामाजिक कामकै कारण युनाइटेड क्लबको पहिचान भएकाले क्लबले लिएको उद्देश्य समेत बिस्तारै साकार हुँदै गएको उनको भनाइ रहेको थियो ।

युनाइटेड क्लबका परिकल्पनाकार आनन्द थापाले अमरसिंह वरपरका युवाहरूलाई समेटेर स्थापना भएको युनाइटेड क्लब आज सम्म आइपुग्दा क्लबका परिकल्पनाकारको उद्देश्य अनुरूप बढेकोमा क्लबका स्थापना कालदेखि वर्तमान अध्यक्षहरू प्रति धन्यवाद व्यक्त गरे । आफूले १६ वर्ष अगाडि देखेको सपना बिस्तारै साकार हुँदै गएको उनको भनाइ रहेको थियो ।  स्थापना कालमा भएका चुनौतीपूर्ण दिनहरूकै कारण आज युनाइटेड क्लबले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै परिकल्पनाकार थापाले कुनैपनि उद्देश्य प्राप्तिका लागि समय पर्खनुपर्ने धारणा राखे ।

साधारण सभामा क्लबका अध्यक्ष लोक बहादुर थापाले अध्यक्षको प्रतिवेदन, महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा बोल्दै युनाइटेड क्लब पोखराका अध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लब १६ वर्षमा लाग्दै गर्दा सम्पूर्णका साथ र सहयोग नै मुख्य भएकाले आगामी पुषको २९ देखि माघको ११ गते सम्म आयोजना हुने पोखरा महोत्सवलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नका लागि समेत सम्पूर्ण आजीवन सदस्य, सदस्य, कार्यसमिति सदस्य तथा पदाधिकारी र क्लबका शुभचिन्तकहरूलाई आग्रह समेत गरे । युनाइटेड क्लब पोखराले आयोजना गर्ने पोखरा महोत्सव सम्पूर्ण पोखरेलीको महोत्सव भएको र पोखरा महोत्सवकै आम्दानीबाटै क्लबले सामाजिक काम गर्दै आइरहेकाले १४ औँ संस्करणको पोखरा महोत्सवमा समेत अघिल्ला संस्करणको महोत्सव जस्तै भव्य र सभ्य बन्ने समेत उनको भनाइ रहेको थियो ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए भने क्लबका महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0