पोखरा । रक्तदानमा युवा पुस्तालाई जागरुक हुन आग्रह रक्तदान पोखरामा सोमबार भएको रक्तदानमा ६६ युनिट रगत सङ्कलन भएको छ । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको आग्रह र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको आयोजनामा भएको रक्तदानमा ६६ युनिट रगत सङ्कलन भएको हो ।

 लगातार परेका चाडपर्व र बिदाको कारण पोखरामा भएको रगतको अभावलाई मध्यनजर गर्दै महेन्द्रपुमा खुला रक्तदान आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पिडिजि राम बसेलले पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष दयाशङ्कर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि बसेलले अफ्ठेरोमा परेको बेला वा अन्य समयमा जहिले पनि लायनहरू अग्रपङ्क्तिमा रहेर सामाजिक सेवामा दत्तचित्त भएर कार्य गरिरहेको बताए । बसेलले चाडबाडको बेलामा पोखरा रक्त सङ्कलन पनि नभएको र रगतको अभाव भएकोले जोखिममा परेको कसैको जीवन बचाउन रगत नै अत्यावश्यक पदार्थ भएकोले कार्यक्रममा सरिक हुन पाउँदा खुसी लागेको बताए । उनले पोखरामा रहेका अन्य लायन्स क्लबहरूलाई पनि यस्तो पुनीत कार्यमा सरिक हुन आग्रह गरे । 

प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख तथा कार्यक्रमका संयोजक लायन अर्जुन ज्ञवालीले हाल पोखरामा पीआरपी, प्लेटलेट्स कन्सर्नट्रेक लगायत कम्पोनेन्टको अभावसँगै एबी पोजेटिभ रगत कम भएकोले रक्तदानका कार्यक्रमहरू गर्न आग्रह गरे । रगतको अभावलाई परिपूरण गर्नका लागि रक्त सञ्चार सेवा केन्द्रले आगामी कार्तिक १५ र २२ गते रक्तदान कार्यक्रम गर्ने बताउँदै त्यसबाहेकका दिनहरूमा रक्तदानका कार्यक्रमहरूलाई तीव्रता दिन आग्रह गरे । रक्तदानमा युवा पुस्तालाई जागरुक हुन उनको आग्रह छ ।

डिस्ट्रिक्ट ब्लड डोनेसन कोअर्डिनेटर दिल बहादुर थापाले सुखमा वा दुःखमा, आपतमा वा विपदमा लायन्स क्लबहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपक कुमार गुरुङले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0