पोखरा। पोखरा महानगरपालिकाका किसानले तिहारको लागि उत्पादन गरेको सयपत्री फूल सबै खपत भएको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताएका छन् । महानगरपालिकाले यसपालि फूलमा आत्मनिर्भरको नजिक रहेको भन्दै ८० प्रतिशत भन्दा माथि यहीको फूलले पुर्याउँछौ भनेर फूल उत्पादन गर्दा उपभोक्ता र किसानलाई सहज भएको उनको भनाइ छ ।
महानगरले किसानलाई २ सय २५ प्याकेट फूल उपलब्ध गराएको थियो । जसका कारण गत असारबाट तिहारको लागि फूल उत्पादन गर्न तयारी सुरु भएको थियो । किसानले समयमै फूल उत्पादन गरे । त्यसैको बलमा महानगरले फूल पुग्छ भनेको पनि थियो । तर कास्की बाहिरबाट फूल कम आउँदा केही समस्या देखिएको कडरिया बताउँछन् ।
फूलको सटेज हुने जानेर व्यवसायीले महानगरले तोकेको भन्दा बढी किसानकै गएर अग्रिम रुपमा खरिद गरिदिँदा बिक्रीको लागि तोकिएका २५ ठाउँमा पर्याप्त फूल आउन नसकेको उनले खुलाए । उत्पादनस्थलबाटै महानगरले तोकेको भन्दा बढी रकममा फूल बिक्री हुँदा विगतका वर्षमा भएको घाटा समेतलाई पूर्ति गर्न केही किसान लागेको पाइएको उनको भनाइ छ ।
भन्सारमा केही प्रावधान लगाएको कारण यसपालि पोखरामा भारतबाट फूल आयात नभएको महाशाखा प्रमुख कडरियाको दावी छ । यहाँ उत्पादन गरेका किसानको फूल भने बाँकी नरहेको उनले जनाए । केही कृषकले अनुदान पाइसकेपछि महानगरपालिकाले तोकेको मूल्यमा दिनुपर्ने भएपनि त्यसो नगरेको समेत भेटिएको उनले खुलाए
फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा महानगरपालिका कृषि ज्ञान केन्द्र, उत्पादक र उपभोक्ता मिलेर मूल्य तोकेपनि आफू मातहत उपयुक्त पहल नहुँदा समस्या भएको उनले बताए । यसपालि ६ रोपनीमा फूल खेती गर्ने किसानले ८ लाख, डेढ रोपनी लगाउने कृषकले २ लाख, एउटा प्याकेट लगेर लगाउनेले पनि ५० हजार कमाएको उनले जनाए ।
बढी मात्रामा उपभोक्ताको तर्फबाट गुनासो आएको बताएका उनले बाहिर जिल्लाबाट कम फूल आउनू, स्थानीय रुपमा कम फूल फूलेको हिसाबले माग र आपूर्तिका कारण मूल्य निर्धारण भएको बुझाई उनको छ । माग अनुसारको सप्लाइ हुन नसक्दा केही मूल्यवृद्धि भएको र यो अर्थशास्त्रको नियम समेत रहेको उनले सुनाए । पोखराको वडा नं। १३ र १७ लगायतका ठाउँबाट भने तोकिएकै मूल्यमा बेचिएको दावी उनले गरे । कमी कमजोरी सच्याउँदै आगामी दिनमा पनि आफूहरूको अभियान जारी राख्ने उनको भनाइ छ । पोखरामा तिहारमा मात्र नभएर अरु समयमा पनि स्थानीय फूलको माग बढेको उनले उल्लेख गरे ।
यस वर्ष पोखराका किसानहरूले करिब ३ लाख माला पुग्ने सयपत्री र मखमली फूल उत्पादन गरेका थिए। हाल ४० जना व्यावसायिक किसान फूल खेतीमा संलग्न छन्। फूल खेतीमा प्रोत्साहित गर्न थप ३ सय किसानलाई अनुदान प्रदान गरिएको थियो। प्रमुख कडरियाका अनुसार बिउ, मल र मल्चिङ प्लास्टिकका लागि गरी ७ लाख ५० हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिएको थियो । यस वर्ष पोखरामा ३ सय रोपनी जग्गामा सयपत्री फूल खेती गरिएको थियो, जसमा १ सय ५० रोपनीमा महानगरको प्रत्यक्ष अनुदान थियो।
महानगरले थुँगाको मूल्य २ देखि ५, मालाको १०० देखि १५० र प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म निर्धारण गरेको थियो । तर, उक्त मूल्यमा फूल नपाएको सर्वसाधरणको गुनासो रहेको छ ।










