पोखरा । तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो फाइट करियरकै ठूलो फाइटको रुपमा रहेको छ ।
भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । यि दुई बिच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको हो सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार सुस्मिताको लागि यो अवसर र चुनौति हो । सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो स्पर्धा भएकाले खेल्न राजी भएकी हुन् ।
२१ वर्षीय सुस्मिता मुवाथाईमा अहिलेसम्म अपराजित खेलाडी हुन् । तर, किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ । फाइटिङ करियर सुरु भएको जम्मा एक वर्षमै, उनले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा मुख्य इभेन्ट फाइट पाउने सफलता हासिल गर्नु सामान्य कुरा नभएको प्रशिक्षक क्षेत्रीले सुनाए ।
उता भारतकी २७ वर्षीय सोनमको प्रोफेसनल फाइटिङ रेकर्ड ७–१ रहेको छ । एमएफएनको शीर्ष फाइटरमध्ये एक हुन् । अनुभव, शक्ति र स्थानीय समर्थन यी सबै उनका पक्षमा छन् । यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुने विश्वास लिएको बताएका क्षेत्रीले सीमापारी गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रने बताए । यो सुस्मिताका लागि अवसर भएकोले केहि समस्या हुँदापनि फाइटका लागि तयार भएको भन्दै अवसर खेर जान नदिने सोचमा अघि बढेको उनले खुलाए ।











