काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तीज अन द वाल (स्पोर्ट्स क्लाइम्बिङ) भएको छ । हरेक वर्ष नेपाली महिलाहरूको महान चाड तीजको उपलक्ष्यमा तीज अन द वाल भएको हो ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तीज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका विभिन्न विधाका खेलाडीहरूले भाग लिएका थिए । साहसिक खेल स्पोर्ट्स क्लाइम्बिङको प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरूलाई कार्यक्रममा सहभागी गराउँदै आएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाङ ल्हामु स्पोर्ट्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।
तीजलाई फरक ढङ्गमा मनाउने उद्देश्यका साथ तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । तीजमा भगवान शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ । हामीले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर सङ्घर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएका छौँ। माउन्टेन एडभेन्चर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।