पोखरा । पोखरामा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका दुई खेल सम्पन्न भएपनि पुरुषतर्फ एक खेलमात्रै सम्पन्न भएको छ  ।

महिलातर्फ टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एपीएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हासिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपीएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट) कारण रोकियो ।

पोखरा १९ लामाचौरस्थित इन्द्रराज लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिलातर्फको खेलमा डायमन्डले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५-१३ ले हराएको डायमन्डले दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । बिहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण निकै ढिला गरि सुरु भएको थियो । दुई खेलबाट डायमन्डको स्पष्ट ६ अङ्क छ । डायमन्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई ३-० कै सोझो सेटमा हराएको थियो ।

दोस्रो खेलमा एपीएफले एभरेष्ट भलिबललाई ३-० कै सोझो सेटमा हराएको छ । एपीएफले पहिलो सेट २५-१० र दोस्रो सेट २५-११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५-१३ ले हराउन सफल भएको हो । यो सँगै एपीएफको पनि स्पष्ट ६ अङ्क छ । गण्डकी र एभरेष्ट भने अङ्क विहीन रहेका छन् । चार टिम सहभागि प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । लिगका अन्तिम खेलहरू भोलि हुनेछन् । एपीएफ र डायमन्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् ।

उता पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वायरी गलकोटलाई ३-० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५-१२, दोस्रो सेटमा २५-१७ र तेस्रो सेटमा २५-२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको ६ अङ्क छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएको थियो ।

दिनको अन्तिम खेलमा गण्डकी र एपीएफ प्रतिस्पर्धा गर्दैगर्दा दोस्रो सेट सकिदाँ लाइट प्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १-१ सेट जितेका थिए । गण्डकीले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट १९-२५ ले गुमाएको थियो । बिहान वर्षा भएपछि खेल ढिला गरि सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शङ्कर केसीले जानकारी दिए ।
राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपीएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल समेत भोलि नै हुने केसीले जानकारी दिए । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार-चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

बिहीबार महिलातर्फ एभरेष्ट विरुद्ध गण्डकी, न्यु डायमन्ड विरुद्ध एपीएफ त्यस्तै पुरुषतर्फ गण्डकी विरुद्ध गलकोट र पुलिस विरुद्ध एपीएफको बिच प्रतिष्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0