पोखरा । कास्की प्रहरीले  मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गरि चलाउनेलाई निगरानी गरेको छ । निगरानीका क्रममा स्वरुप परिवर्तन गरी चलाउने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा १० बुद्धचोक बस्ने २१ वर्षका सुवास कार्की, म्याग्दीको मालिका गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल  पोखरा ३ बस्ने २५ वर्षका एल्बिन पुन, पोखरा ६ बस्ने २६ वर्षका सञ्जीव दुवाडी  र पोखरा ५ प्रस्याङ बस्ने २९ वर्षका अमृत चापागाईँ रहेका छन् । 

विभिन्न समयमा मोटरसाइकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनि प्रदुषण गर्ने, समाजलाई आतङ्कित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूले चेकजाँचको क्रममा प्रहरीसँग विवाद समेत गर्ने गरेका थिए । 

कास्की प्रहरीले शहरी तथा ग्रामीण क्षेत्रमा होहल्ला गर्दै ध्वनि प्रदुषण गर्ने, बाइकको साइलेन्सर पाइपबाट आगोको झिल्का निकाली समाजमा अशान्ति फैलाउने मोटरसाइकलहरू चलाएको देखेमा उक्त मोटरसाइकल नम्बर नेपाल प्रहरीको हटलाइन नम्बर १००, ट्राफिक प्रहरीको १०३ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता कायम रहने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0