पोखरा । पोखरामा सुविधा सम्पन्न क्रिकेट रङ्गशालाको आवश्यकता रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । आइतबार आयोजना गरिएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घको चौथो साधारणसभामा बोल्ने वत्ताले पछिल्ला नेपाली क्रिकेटले एक पछि अर्को सफलता पाइरहेको भएपनि अन्तराष्ट्रिय स्तरको रङ्गशालाको अभावमा पोखरामा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न नसकिएको  उल्लेख गरे । प्राकृतिक रूपले सुन्दर पोखरामा स्तरीय क्रिकेट मैदान हुने हो भने महत्वपूर्ण प्रतियोगिता यहाँ खेलाउन सकिने र त्यसले पर्यटन क्षेत्रमा सकारात्मक उर्जाको सञ्चार गर्ने उनीहरूको विश्वास थियो।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि खेल सङ्घसहित सरोकारवाला निकायहरूसँग सहकार्य गर्न महानगर तयार रहेको बताए । क्रिकेट विकासका लागि पोखरामा स्तरीय क्रिकेट मैदानसँगै खेल वातावरण निर्माण गर्नका लागि महानगरले आफ्नो कार्यक्षेत्रले भ्याएसम्मका कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। पोखरामा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान र थप एक वैकल्पिक क्रिकेट मैदानको लागि पहल गरिरहेको बताएका उनले नयाँ सरकार गठन पश्चात उक्त प्रक्रिया अगाडि बढ्न नसकेको उनले सुनाए। उक्त प्रक्रिया अगाडि बढाउन आफ्नो ठाउँबाट पहल गर्ने उनको भनाइ थियो ।

नेपाल क्रिकेट सङ्घ क्यानका केन्द्रीय उपाध्यक्ष रोशन कुमार सिंहले सारा नेपालीलाई एकजुट बनाउन  अहिले क्रिकेट खेलले महत्वपूर्ण भूमिका खेलिरहेको बताए । नेपालले भर्खरैमात्र अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्य राष्ट्र वेष्ट ईन्डीजलाई हराएको बताउँदै यसले सारा नेपालीलाई खुशी दिएको बताए । उनले राष्ट्रिय रूपमै बलियो क्रिकेट टिम निर्माण गर्नका लागि ग्रासरूटदेखि नै क्रिकेटलाई बलियो बताउनुपर्ने र यसमा  जिल्ला खेलसंघहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे

प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा हुने यू १९ टी २० महिला विश्वकपका लागि पोखरामा अन्य पूर्वाधारहरू भएपनि क्रिकेट मैदान स्तरीय नभएको बताए । देश सङ्घीयतामा गएपछि अन्य प्रदेशहरूमा ठूला क्रिकेट रङ्गशालाहरू बनेतापनि पोखरामा भने भएको रङ्गशालाको स्तरोन्नति गर्न समेत समस्या भएको उनको भनाई छ । पोखरामा एउटा सुविधासम्पन्न रङ्गशाला निर्माण गर्न सके क्रिकेट प्रतियोगिताहरू बढाउन सकिने भएकाले यसमा महानगरले आवश्यक सहयोग गर्नेमा आशावादी रहेको उनले खुलाए।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य विनय थापा, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य सुदीप शर्मा, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष  एमबी आस्था मगर लगायतले आफ्ना भनाई राखेका थिए ।

प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेल स्वागत गरेको कार्यक्रमका सञ्चालन सचिव  सुमन राज कार्कीले गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू उपस्थित थिए । सोही कार्यक्रममा  खेलाडी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी खेलाडीहरूलाई नगद सहित सम्मान तथा जिल्ला क्रिकेट संघलाई खेल सामाग्री हस्तान्तरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0