पोखरा । होटल सङ्घ पोखरा नेपालले अलपत्र परेका र बिखर्ची भएका पर्यटकलाई निःशुल्क खाने बस्ने व्यवस्था मिलाउने बताएको छ । सङ्घ अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार एक विज्ञप्ति प्रकाशित गरेर दिएको जानकारी अनुसार अन्य पर्यटकको हकमा प्रचलित दररेटमा २५ प्रतिशत छुट प्रदान गरिनेछ ।
‘जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि असोज २० गतेसम्म नेपालका विभिन्न भागमा मनसुनी गतिविधि सक्रिय हुने भनी सचेतनामूलक सूचना जारी गरेको विषय जगजाहेर नै छ । असोज १८ देखि २० गते सम्म विभिन्न प्रदेशहरूमा भारि वर्षा हुने र सानाठूला नदीहरूमा जलसतह जोखिमको स्तरसम्म बढ्न सक्ने विषय उल्लेख गर्दै विभागले सबैलाई सचेत गराएको विषय पनि विदितै छ । पूर्वानुमान अनुसार देशका विभिन्न क्षेत्रमा बाढीपहिरो, जनधनको क्षति, विभिन्न सडक र राजमार्गहरू अवरुद्ध र आधा दर्जन बढी नदीमा जलस्तर जोखिमको तहसम्म बढ्न पुगेको समाचारहरू पनि आइरहेका छन् ।’ विज्ञप्तिमा भनिएको छ ।
हालको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले असोज १९ र २० गतेका लागि सार्वजनिक बिदाको समेत घोषणा गरिसकेको भन्दै सङ्घले पोखरा र वरपरको क्षेत्रको भ्रमणका क्रममा बाढी, पहिरो र मौसमजन्य विपत्ति तथा कठिनाइका कारण कोही पर्यटक अलपत्र परेको र बिखर्ची भएको भए होटल संघ पोखरा नेपालले निःशुल्क खाना बस्नको व्यवस्था गरेको प्रष्ट पारेको छ । यस्तो राहत र छुट अलपत्र परेका र बिखर्ची भएका पर्यटकका हकमा मात्र लागू हुने प्रष्ट पारिएको छ । यसका अलावा अहिलेको मौसममा पोखरा भ्रमणमा आएका सबै पर्यटकलाई होटलको प्रचलित दररेटमा २५ प्रतिशत छुट प्रदान गरिने घोषणा पनि संघले गरेको छ ।
सङ्घले बाढी, पहिरो र प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउन पुगेका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा घाइतेको निःशुल्क उपचार कार्यका लागि सरकारको ध्यानाकर्षण गराउँदै मृतकका आफन्तजनमा गहिरो समवेदना प्रकट समेत गरेको छ ।

















