पोखरा । स्याङजा फेदिखोलाका कार्कीहरू मन्दिर र सभाहल निर्माण गर्न जुटेका छन् । श्री खहरे मुडुला कार्की कुल पूजा मन्दिर समितिको सक्रियतामा मन्दिर र सभाहल निर्माण गर्न लागिएको हो । हाल समितिले फेदीखोला-२, खहरेमा पुरानो मन्दिर रहेकै स्थानमा करिब ७५ लाखको लगानीमा कुल मन्दिर र सभाहल निर्माण कार्य गरिरहेको छ।

 यसैक्रममा समितिको वार्षिक साधारणसभा समेत हालै सम्पन्न भएको छ। साधारण सभामा उपस्थित सबैले मन्दिर र सभाहल निर्माणमा आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । समितिका अध्यक्ष सुवेदार राम बहादुर कार्कीको अध्यक्षता र ज्येष्ठ नागरिक ह.मान बहादुर कार्कीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त साधारणसभाले विभिन्न प्रतिवेदनहरू पारित गरेको छ। 

समितिका अध्यक्ष कार्कीले कुल मन्दिर निर्माण जस्तो पवित्र, धार्मिक र ऐतिहासिक यो अभियानमा जोडिनको निम्ति समस्त बन्धुहरूलाई आव्हान गरे। समितिका सल्लाहकार कृष्ण बहादुर कार्कीले समय सापेक्ष हिसाबले अब बन्न लागेको मन्दिर अत्यन्तै सुन्दर र महत्त्वपूर्ण हुनुपर्ने बताउँदै, त्यसको लागि आफूले हरकोणबाट सहयोग गर्न तत्पर रहेको बताए।

समाजसेवी नरेन्द्रजङ्ग कार्कीले मन्दिर निर्माणमा सम्पूर्ण बन्धुहरूको साथ समर्थनले मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सकिने कुरामा जोड दिए । युवा व्यवसायी मनोज कार्कीले हाम्रा अग्रजहरूले देखाएको बाटोमा एकजुट भएर हिँड्न हरेक युवाहरूलाई अभिप्रेरित गर्दै आफ्नो तर्फबाट मन्दिर निर्माणको लागि जुनसुकै सहयोग रहने प्रतिबद्धता जनाए ।

 संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन बहादुर कार्कीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कोषाध्यक्ष केशव बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक राजकुमार कार्कीले संस्थाका आर्थिक गतिविधिहरूको बारेमा केही सुझावसहित प्रकाश पारेका थिए।

 सचिव जितजङ्ग कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष विजय कुमार कार्कीले निर्माणको क्रममा रहेको मन्दिरको अवस्थाबारे जानकारी गराएका थिए। साधारणसभाको अवसरमा उपस्थित विभिन्न कार्की बन्धुहरूले मन्दिर निर्माणको लागि आफ्नो तर्फबाट सहयोग रकम घोषणा गरेका थिए ।

 आगामी वैशाखसम्ममा सभाहल र कम्पाउण्ड सहित सम्पूर्ण मन्दिर निर्माणकार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको संस्थाका सूचना अधिकारी लाल कार्की अन्जानले जानकारी दिए। निर्माणकार्य समयमै सम्पन्न गर्नको लागि सहयोग आउने क्रम जारी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0