राजाराम पौडेल, पोखरा । गत वर्षको माघमा नाटक ‘धनिरामको गोरु’ मञ्चन मार्फत पोखरेली रङ्गमञ्चमा उदाएको पद्माप्रेम थिएटर यतिबेला नयाँ नाटकको मञ्चनको तयारीमा जुटेको छ । केही समयदेखि रिहर्सल भैरहेको नाटक दर्शकले यहीँ भाद्र २८ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा हेर्न पाउनेछन् । नाटकको नाम ‘जानकी’ हो ।

असोज ५ गतेसम्म साँझ ५ बजे शनिबार दिउँसो १ बजे समेत मञ्चन हुने यो नाटक पद्मा प्रेम थिएटरको प्रस्तुतिमा मञ्चन हुने दोस्रो नाटक बन्नेछ । सावित्रा पाठक सबुले लेखेको नाटकको निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीले गर्नेछन् ।

पहिलो वार्षिकोत्सवको अवसरमा मञ्चन गर्ने नाटकबाट दर्शकको साथ पाउने टिमको विश्वास छ । नाटकमा गोविन्द पराजुली, विभु प्रसाद भुसाल, सावित्रा पाठक सबु, ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम प्रमोद र अलिसा थापाको अभिनय हेर्न पाइनेछ ।

जय चापागाईंको संगीत रहने नाटकको पोष्टर सार्वजनिक भएको छ । जसको डिजाइन सन्दिप तिवारीले गरेका छन् । नाटक मञ्चनको लागि केही सहयोगी संस्थाको साथ पद्माप्रेम थिएटरले पाएको छ।

यो नाटकलाई लिएर अध्यक्ष सावित्रा पाठक सबु उत्साहित छन् । उनले आफ्ना लागि यो नाटक मञ्चन परीक्षा भएको बताएकी छन् । ‘यो नाटक हाम्रो लागि, मेरो लागि अत्यन्त खास छ, पहिलो पटक म आफैले लेखेको नाटक मञ्चन हुँदैछ, यो मेरो लागि परीक्षा रहेको छ, म र हामी उत्रिर्ण भएको नभएको तपाईं आएर हेरे पछि बल्ल थाहा हुनेछ । मलाई विश्वास छ हजुहरूबाट माया, साथ पाउनेछु’ उनले भनिन् ।

निर्देशन मार्फत पुराना रङ्गकर्मी गोविन्द पराजुलीले परिपक्वता पस्कनेछन् । नाटकलाई आफूहरूले सक्दो न्याय गरेर तयार पार्न लागेको अर्को निर्देशक शीतला अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0