पोखरा । यहीँ भदौ २८ र २९ गते हुने पोखरा उद्योग वाणिज्य सङ्घको ३५ औं महाधिवेशन मार्फत नेतृत्वमा पुग्ने योजना बुनेका गोकर्ण कार्की पोखराका उद्योगी व्यवसायिप्रतिको विश्वास नै आफ्नो जित्ने आधार रहेको बताउँछन् । हाल वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत रहेको कारण आफ्नो अध्यक्ष पदको दाबेदारी प्राकृतिक न्यायको सिद्धान्तले समेत सान्दर्भिक रहेको उनको भनाई छ ।
डेँगुका कारण फिस्टेल अस्पतालमा उपचाररत कार्की अस्पतालबाटै मनोनयन दर्ता गर्न पुगेका थिए । हाल अस्पतालमा नै उपचाररत रहेका कार्की व्यवसायीबीच पुग्न नसकेकोमा चिन्तित छन् । स्वास्थ्यमा सुधार हुनासाथ व्यवसायीमाझ पुग्ने योजना बनाएका उनले भौतिक रुपमा उपस्थित भएर व्यवसायी माझ पुग्न नसकेपनि सामाजिक सञ्जाल र फोनमार्फत सम्पर्कमा रहिरहेको बताउँछन् । स्वास्थ्यमा केही सुधार आएकोले बुधबार अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको उनले जनाए । डिस्चार्ज पश्चात सम्भव भएमा सबै व्यवसायीमाझ पुग्ने योजना उनको छ ।
२०५५ सालमा सङ्घको साधारण सदस्य बनेका उनी त्यसपछि निरन्तर सङ्घमा क्रियाशील रहेका छन् । विभिन्न उपसमितिमा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरेका उनीसँग उद्योग उपाध्यक्षको दूई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको अनुभव समेत रहेको छ । व्यवसायीका समस्या बुझेको कारण नेतृत्वमा पुगेर ती समस्यालाई समाधान गर्ने योजना आफ्नो रहेको उनी सुनाउँछन् । ‘व्यवसायी साथीहरूको समस्या बुझेको छु । नेतृत्वमा हुँदा धेरै समस्या समाधान गर्न सकिन्छ त्यसैले पनि आम व्यवसायीको मर्का बुझेर नै मैले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छु ।’ उनले भने ।
मिलनसार र शान्त स्वभावका कार्की भाषण र बोलेर मात्रै काम हुन्छ भन्नेमा विश्वास गर्दैनन् । २०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य सङ्घ उद्योगी र व्यवसायीको आस्थाको धरोहर मात्र नभई पोखराको विकासको जीवन्त संवाहक पनि भएको उनी बताउँछन् । अग्रजहरूले कायम गरेको सङ्घको विरासतलाई कायम राख्दै उद्योगी व्यवसायीमाझ नयाँ उत्साह थप्दै उनीहरूलाई परेका समस्याको समाधान गर्न सारथी बन्नको लागि आफ्नो दाबेदारी रहेको उनको भनाई छ ।
उनले ११ बुँदै प्रतिवद्धता समेत व्यवसायी माझ सार्वजनिक गरेका छन् । पुराना संस्थागत असल कार्यहरूलाई निरन्तरता दिने साथै सङ्घलाई मर्यादित र उद्योगी व्यवसायीलाई सम्मानित हुने बातावरण बनाउने प्रतिवद्धता उनले जनाएका छन् । सधैँ इमानदार रहि संस्थागत हित र उद्देश्यहरू परिपूर्णको लागि प्रतिबद्ध रहने, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादित वस्तुहरूलाई बजारिकरणमा सघाउने उनले बताएका छन् ।
व्यावसायिक सदस्यहरूको आवश्यकता, हित, कल्याणका कार्य र सदस्यहरूको आवाजको प्रतिनिधित्वको सुनिश्चितता गर्नको लागि सरसल्लाह, परामर्श र सहयोगका सयन्त्रहरू बनाई काम गर्नें, आर्थिक चुनौतीहरूको सामना गरिरहेको बेलामा नयाँ–नयाँ अवसरहरूको खोजी गर्दै व्यवसायी सदस्यहरूको मनोभाव बुभेर, तालिम, सेमिनार, प्रशिक्षण, व्यावसायिक प्रवर्द्धन र नेटवर्किडको फ्रेममा रहने वातावरण बनाउने योजना उनले बनाएका छन् ।
हस्तकलाको प्रवर्द्धन, उद्यमशिलताको विकास, साना तथा मभौला उद्योगहरूको संचालनमा सहजीकरण र उत्पादित हुने बस्तुहरूको एउटै थलोबाट बित्रीका लांगि सबै क्षेत्रमा कोशेली घरको अवधारणालाई बिस्तृतिकरण गर्नं, युवा विदेशीने वाध्यतालाई न्यूनीकरण गर्नका लागि युवा लक्षित कार्यक्रमहरू ल्याउने, तालिम तथा सिपयुक्त जनशक्ति निर्माण. उद्यमशिलताको विकास र व्यावसायिक वातावरण बनाउने उनको प्रतिवद्धता छ ।
पोखरा अन्तर्राष्टिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेशी र विदेशी च्याम्बरहरूसँग सहकार्य र भगिनी सम्बन्धको बिस्तार तथा लगानी सम्मेलन गरी लगानीको वातावरण तयार गर्ने, बैंक, वित्तीय क्षे्रका समस्याहरूको उचित निकासको लागि नियामक निकायहरूसंग प्रतिफल आउने गरी ध्यानाकर्षण गराउने उनले जनाएका छन् ।
मध्यपहाडी लोकमार्ग तथा त्रिवेणी कोरला मार्गबाट हुने लाभका लागि कार्य गर्ने र पोखरालाई व्यावसायिक केन्द्रको रूपमा विकास गर्ने तथा उद्योग, व्यवसाय फस्टाउन र औद्योगिक वातावरण निर्माण गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारसंग समन्वयकारी भूमिका निर्वाह गरदैं औद्योगिक क्षेत्र स्थापना गर्नका लागि पहल गर्नें उनको प्रतिवद्धता छ ।
अध्यक्षका उम्मेदवार कार्की पोखरा औद्योगिक क्षेत्रमा रहेको बिनित मेटल उद्योगको प्रोपाईटर तथा ए वान ब्लक उद्योगको निर्देशक हुन् । बुद्धचोकमा रहेको अमिरा बुटिकको निर्देशक रहेका उनी पोखरा–१४ मा रहेको राधिका ब्लक उद्योगको निर्देशक, पोखरा औद्योगिक क्षेत्रमा रहेको बाराही बेकरी प्रा.लि.को निर्देशक र दि अन्नपूर्ण भिलेज हाउजिङ प्रा.लि.का निर्देशक समेत हुन् । महाधिवेशन मार्फत नेतृत्वमा पुर्याउनको लागि आफ्नो अमूल्य मत मार्फत सहयोग गर्न पोखरा उद्योग वाणिज्य सङ्घमा आवद्ध सबै उद्योगी व्यवसायीमाझ उनको आग्रह छ ।
३५ औं महाधिवेशन मार्फत नेतृत्वमा पुग्नका लागि कार्कीको अर्जुन पोखरेलसँग प्रतिष्पर्धा हुँदैछ । पोखरेल ३४ औं महाधिवेशनमा हालका अध्यक्ष पवन प्रजापतिसँग पराजित भएका थिए । पवनले १ हजार ६ सय १३ मत प्राप्त गर्दा पोखरेलले ८ सय ९७ मत प्राप्त गरेका थिए । ३४ औं महाधिवेशनमा १ हजार ७ सय ७६ मतका साथ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकोले यो पटक अध्यक्ष पदमा पुग्नको लागि समेत त्यसैगरी व्यवसायीको साथ आफूलाई मिल्ने कार्कीको विश्वास छ । प्यानलनै बनाएर निर्वाचनमा होमिएका अध्यक्षका प्रत्यासी पोखरेल भने चुनावी अभियानमा व्यस्त छन् ।