पोखरा । साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मङ्गलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो ।

पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो । गण्डकीलाई २१ अङ्कमा रोक्दै म्याच प्वाइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो । अघिल्ला सेट २५–१७ र २५–२१ मा जितेको थियो । पहिलो र दोस्रो सेट तुलनामा तेस्रोमा निकै सुधारिएको खेल पस्के पनि घरेलु टिमले आफ्ना समर्थकलाई निराश बनाउन पुग्यो । लामाचौर कपमा महिलातर्फ ११ औं संस्करण भइसक्दा २ वर्षअघि मात्र पुरुषतर्फ पनि प्रतिस्पर्धा हुन थालेको हो । पहिलो र दोस्रो संस्करणमा पनि गण्डकी र पुलिस नै फाइनल खेलेका थिए । पहिलो संस्करण भने वर्षाले बिथोलिएपछि दुवै टिमले पुरस्कार बाँडेर लिएका थिए ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मङ्गलबारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा ४ दिनसम्म प्रतियोगितामा महिला तथा पुरुषतर्फ चारचार टिमले भाग लिएका छन् ।

एपीएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमन्डले विजयी सुरुआत गरेको छ । महिलातर्फ उद्‌घाटन खेलमा एपीएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ । एपीएफले अघिल्ला दुई सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट गुमाएको हो । उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ सेटले जितेको हो ।

महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले जित्यो । डायमन्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको रेफ्री डेलिगेट टहलसिंह थापाले बताए । पुरुषतर्फ पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको हो । एपीएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा हराएको हो ।

दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमन्ड र गण्डकी तथा दोस्रो खेलमा एपीएफ र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ गण्डकी र एपीएफ आमनेसामने हुने खेलकुद संयोजक शङ्कर केसीले बताए ।

राउन्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ । दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । भदौ २१ गतेसम्म चल्ने लामाचौर तीज महोत्सव अवसरमा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्को आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए ।

उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् । तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ ।

अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइने आयोजकले जनायो । महोत्ससव अवसरमा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई सम्मान गरिने छ ।

महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए ।

संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । संरक्षकमा पोखरा वडा १९ र वडा १६ का वडा कार्यालय छन् । महोत्सवका लागि अध्यक्ष स्वागत सिंह भण्डारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । जसमा १६ उपसमिति छन् ।

तस्बिर : योगेन्द्र श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0