पोखरा । गण्डकी प्रदेश सरकारले एक कार्यक्रम आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गण्डकी प्रदेश पोखराले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भदौ २३ र २४ गते भएका आन्दोलनलाई नयाँ पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहना प्रष्ट पार्ने घटनाका रूपमा व्याख्या गरे।
मुख्यमन्त्री पाण्डेले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताए। यो यात्रामा गण्डकी प्रदेश सरकार, सङ्घीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनर्निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्ने उनको भनाइ थियो।
उनले पछिल्लो राजनीति घटनाक्रम र यसबाट उत्पन्न परिस्थितिपछि प्रदेश सरकार मातहतका मन्त्रालय, निकाय र कार्यालयहरूबाट तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न गराउनमा प्रदेश सरकारले काम थालिसकेको बताए ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले सबै जनप्रतिनिधिहरू सम्पत्ति छानविन गर्नका लागि तयार रहेको बताए । पछिल्लो राजनीतिक घटनाक्रम र यसले पुर्याएको क्षतिबारे बोल्दै नकारात्मकताको भावका कारण संसददेखि वडा कार्यालय भवनसम्म जलेर खरानी बन्न पुगेको बताए । प्रधानमन्त्री सुशीला कार्कीको कार्यकक्षबाट नेपालको चुच्चे नक्सा हटाइएको बारे प्रश्न समेत गरेका छन् ।
नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले १० वर्षको अवधिमा संविधानको कार्यान्वयनमा आलटाल गर्ने काम मात्र भएकाले जेनजी आन्दोलन भएको बताए । उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र अक्षरंश कार्यान्वयनको विकल्प नरहेको बताएका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संसारभरका संविधानहरूमध्ये उत्कृष्ट संविधानका रुपमा नेपालको संविधान २०७२ भएपनि कार्यान्वयन र लागु गर्ने सन्दर्भमा भने कमी कमजोरी सबैले महसुश गरेको बताए । उनले सुशासनका लागि युवाहरुले थालेको जेनजी आन्दोलनमा भएको क्षतिबारे बोल्दै आयोजक भन्दा गैर आयोजकको उपस्थिति बढि भएको आशंका समेत व्यक्त गरे । आन्दोलनबाट भएको क्षतिबाट पाठ सिक्दै संविधानको अक्षरंश पालना गर्नेतर्फ सबै लाग्नुपर्ने र यदि साच्चै जरुरी हो भने कानुनअनुसार नै संविधान संसोशन गर्नसकिने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समेत बोलेका थिए भने सञ्चालन ध्रुव गिरीले गरेका थिए ।
