पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउनका लागि त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार नेकपा एमाले जिल्ला कमिटी कास्कीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले घाईते भएको संविधानलाई जोगाउनका लागि पनि फागुनमा हुने निर्वाचन सफल पार्नुपर्ने बताएका हुन् ।‘२१ गतेको चुनाव गरेर घाइते भएको संविधानलाई जोगाउन सकिन्छ कि त्यसतर्फ हामी जाने हो’ उनले भने । 

भदाै २३ र २४ गते भएको घटनाको छानबिन हुनुपर्नेमा उनले जोड दिए । उनले जस्तोसुकै परिस्थिति आएपनि त्यसको सामना गरेर जानसक्ने गरि तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नेताले कार्यकर्ता र आम जनताका भावना धैर्यतापूर्व सुन्नुपर्ने उनको भनाइ थियो । 

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनले सुशासन कायम गर्न नसक्दा व्यवस्थाप्रति आक्रोश उत्पन्न हुन पुगेको बताए । जे भयो त्यसमा अल्झिनुभन्दा पनि कमी कमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको भनाई थियो । अबको निर्वाचनमा युवाको प्रतिनिधित्व बढाउनुपर्नेमा उनको जोड छ । व्यवस्थाप्रतिको आक्रोश भन्दा पनि सुशासन  विषय मुख्य रहेको उनले उल्लेख गरे ।

एमालेले सत्ता भन्दा पनि सुशासनलाई ध्यान दिने गरेको भन्दै आफ्नो पालामा गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाएर ७ मा झारेको स्मरण गरे । वर्तमान सरकार गठन र संसद् विघठन संविधानसम्मत नभएको कारणले विगतका नजिरलाई ध्यान दिँदै अदालतले पुन: संसद् पुनर्स्थापना गर्न सक्ने सङ्केत समेत उनले गरे ।

नेकपा एमाले कास्कीका अध्यक्ष वैन बहादुर अधिकारी क्षेत्रीले अप्ठ्यारोको समयमा पनि कास्कीमा देखिएको एकता प्रशंसनीय रहेको बताए । लामो समयको प्रयास र सङ्घर्षपछि नेपाली जनताले प्राप्त गरेको संविधानको रक्षा गर्नु सबै नागरिकको दायित्व भएको बताउँदै संविधानमाथि भइरहेको कुचेष्टालाई चिरेर अगाडि बढ्नुपर्ने बताए । देशमा धेरै राम्रा काम गरेपनि केही विषयहरूमा समयसापेक्ष रुपमा परिवर्तन हुन र जनताको मनोभावना बुझ्न नसक्दा अहिलेको विद्यमान अवस्था सिर्जना भएको बताउँदै कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य जगत बहादुर विश्वकर्मा, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामालगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0