पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ । संघका सल्लाहकार जयकुमार परियारले दिएको जानकारी अनुसार गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण जिल्ला प्रहरी कार्यालय कास्कीमा ठूलो क्षति भएको र पुनः सेवा सुचारु गर्नको लागि सहजता होस् भन्ने हेतुले सहयोग गरिएको हो । संघले ३ थान कम्प्युटर र २ वटा प्रिन्टर सहयोग प्रदान गरेको उनले खुलाए । संघका पदाधिकारी जिल्ला प्रहरी कार्यालयमै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका थिए । यो सहयोगका कारण प्रहरी तथा सेवाग्राहीलाई सहजता हुने विश्वास गरिएको छ ।

प्रदर्शनका क्रममा अराजक समुहले भदौ २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड र आगजनी गरेको थियो । आगजनीबाट कार्यालयका सबै सामाग्री जलेर नष्ट भएका थिए । सानै भए पनि तत्काल आवस्यक पर्ने कम्प्युटर र प्रिन्टर दिएर प्रहरीको कामलाई सहज बनाउने उद्देश्यले सहयोग गरिएको सल्लाहकार परियारको भनाइ छ । संघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा मोक्तान, दोहोरी व्यवसायी ठागु गुरुङ, निश्चल गुरुङ र भोज गुरुङले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

संघका अध्यक्ष गुरुङले प्रहरी कार्यालय भनेको जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यालय भएको भन्दै यति कुरा पनि हेक्का नराखिकन ध्वस्त पार्नु भनेको निकै दुखद कुरा भएको बताए ।  सबै ध्वस्त भएको खबरपछि संघ मार्फत  तत्काल आवश्यक महसुस गरी कम्प्युटर र प्रिन्टर सहयोग गरेका र यसले केही हदसम्म मलम लगाउने विश्वास लिएका खुलाए ।

 पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउने गरेको छ । आन्दोलन र त्यशपश्चातको स्थितिका कारण व्यवसायमा समस्या भएपनि देशलाई परेको समस्यामा साथ दिनका लागि सहयोग गरिएको संघले जनाएको छ । संघमा रात्रीकालिन व्यवसायको रुपमा रहेको लोकदोहोरी व्यवसायीहरु आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0