पोखरा । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले मौन शान्ति पदयात्रा निकालेको छ । जेनजी प्रदर्शनपछि पोखरा सहित देशभरका उद्योग व्यवसायी माथि असर परेको भन्दै सङ्घले मङ्गलबार पोखरामा शान्ति पदयात्रा निकालेको हो ।
लेखनाथ उद्योग वाणिज्य सङ्घ सहितको सहभागितामा पोखरा उद्योग वाणिज्यसंघको सचिवालय पोखरा गैह्रापाटनबाट सुरु भएको मौन शान्ति र्याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक हुँदै पृथ्वीचोकमा पुगेर समापन भएको थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जेन-जी समुहको आन्दोलनका क्रममा घाइते भएकाको शिघ्र स्वास्थ्य लाभ, दिवङ्गत आत्माको चिरशान्तिको कामना सहित आगजनी, तोडफोड र लुटपाटका कारण उद्योगी व्यवसायी सहित सरकारी कार्यालयमा जुन क्षति भएको छ त्यसमा दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना नहोस् भन्ने कामना सहित पदयात्रा गरिएको बताए । नेपालीहरूका महान् चाड नजिकिएको बेलामा सहज तरिकाले व्यवसाय सञ्चालन गर्न सन्देश दिनको लागि समेत यो कार्यक्रम गरिएको उनले खुलाए ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले यतिबेला देश दुःखद अवस्थामा रहेको भन्दै जेन जी आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी सम्पत्ति र राज्यको सम्पत्तिमा क्षति पुर्याइएकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना हुन नपाउन् भन्नका लागि मौन शान्ति पदयात्रा गरिएको बताइन् । आँउदै गरेको चाडपर्व लगायतमा व्यवसायीले शान्ति महसुस गरेर उद्योग व्यवसाय गर्ने वातावरण मिलाउनुपर्नेमा उनको जोड छ । रोजगारी सिर्जनाका लागि निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै आन्दोलनका क्रममा तहस नहस पारिएका क्षेत्रलाईलाई जतिसक्दो छिट्टै उठाउने वातावरण राज्य पक्षबाट हुनुपर्ने उनको भनाइ छ ।

र्यालीमा पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घमा आवद्ध उद्योगी व्यवसायी सहित सामाजिक अभियन्ताको सहभागिता रहेको थियो । उनीहरु मुखमा पट्टी लगाएर जुलुसमा सहभागी बनेका थिए । भदौ २३ र २४ गते भएको जेन-जी समुहको आन्दोलनका क्रममा पोखराका उद्योगी तथा व्यवसायीको सम्पत्तिमा समेत ठूलो क्षति पुगेको थियो ।











