पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । शुक्रबार राती अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गरेका हुन् । राष्ट्रपतिले गएराति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबीच कार्की देशकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भए पश्चात कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए । शुक्रबारै प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गराउने तयारी भए पनि अन्तिममा हुन सकेन । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँगै रहेको छ ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ अधिकारी र कूटनीतिज्ञहरूको सहभागिता थियो । प्रधानमन्त्री कार्की देशको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।
