पोखरा । नेपाल शैक्षिक परामर्श सङ्घ इक्यान कास्की शाखाको आयोजनामा आठौँ इक्यान एजुकेसनल फेयर भव्य रुपमा सम्पन्न भएको छ । पोखरा न्यूरोडमा रहेको सिटी स्क्वायर बैङ्क्वेटमा दुईदिनसम्म चलेको फेयर मार्फत प्राप्त साथ सपोर्टका कारण आयोजक उत्साहित बनेका छन् ।

 टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा भएको एजुकेसन फेयरको समापन समारोहको प्रमुख अतिथिका रुपमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिम्सिना रहेका थिए । उनले समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाका रुपमा मेला स्थापित भएको भन्दै खुशी व्यक्त गरे । पोखरा २५ का वडाध्यक्ष समेत रहेका प्रवक्ता तिम्सिनाले पोखरामा सञ्चालित शैक्षिक परामर्श संस्थाहरूमध्ये कतिपय संस्थाहरू महानगरपालिकामा दर्ता नभएको बताउँदै यथाशक्य महानगरमा दर्ताका लागि आउन आग्रह गरे । उनले कम्पनी रजिस्ट्रार कार्यालय र राजस्व कार्यालयमा दर्ता भइसकेका छौँ अब महानगरमा दर्ता गर्नु पर्दैन भन्ने भ्रम कतिपय सञ्चालकमा रहेको बताउँदै अनिवार्य रुपमा महानगरमा समेत दर्ता गर्नुपर्ने उल्लेख गरे । कम्पनी दर्ता गर्दा पोखरा महानगरपालिकाले कुनै पनि धरौटी नलिएको जिकिर गर्दै उनले छिटो भन्दा छिटो स्थानीय तहमा कम्पनी दर्ता गरी आफ्नो पेसा लाई मर्यादित बनाउन उनको आग्रह थियो ।

इक्यान कास्की अध्यक्ष ओम प्रकाश गैह्रेले पोखरामा तीनवर्षपछि आयोजना गरिएको मेला सफलतापूर्वक सम्पन्न भएको बताए । मेलाले विद्यार्थीहरूलाई भविष्यको बाटो तय गर्न महत्वपूर्ण सहयोग पुर्‍याएको उनको विश्वास थियो ।

कार्यक्रम संयोजक एवं इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले अध्यक्ष गैरे नेतृत्वको कार्यसमितिका सबैले आआफ्नो कर्तव्य जिम्मेवारीपूर्ण ढङ्गले निभाएका कारण अपेक्षाअनुसार मेला  सम्पन्न गर्न सकिएको बताए । उनले सीमित स्रोत साधनका बाबजुद मेला सञ्चालन गरिएको बताउँदै आगामी वर्षहरूमा कमीकमजोरी सच्याउँदै मेलालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका कलेज एवं विश्वविद्यालयका प्रतिनिधि, इक्यानका सदस्य संस्था, ब्रिटिस काउन्सिल लगायतका ६५ स्टल रहेको थियो । इक्यान कास्कीले मेलामा सहभागी हुनका लागि शुक्रबार र शनिबार पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा समेत उपलब्ध गराएको थियो। इक्यान कास्की अध्यक्ष गैह्रेको अध्यक्षतामा भएको समापन समारोहमा इक्यानका पूर्व केन्द्रीय अध्यक्ष दीपक गुरुङ, केन्द्रीय उपाध्यक्ष तथा कास्कीका पू्र्व अध्यक्ष भुवन बहादुर क्षेत्री, केन्द्रका महासचिव दीपकराज भुषाल, कास्कीका पूर्व अध्यक्ष मिलन तिवारी, निवर्तमान अध्यक्ष रमेश कुमार थापा,टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिका प्रेम सुवेदी सहित रोसन भट्ट, कमल बराल, देव बहादुर क्षेत्री, सुरेन्द्र बराल लगायतले बोलेका थिए ।

 मेलामा ब्रिटिस काउन्सिल नेपालको सहकार्य रहेको थियो । मेलाको ‘पावर्ड बाइ’ मा बेलायतस्थित युनिभर्सिटी अफ वर्केस्टर र योर्क सेन्ट जोन युनिभर्सिटी रहेका थिए। यसको प्लाटिनम प्रायोजकमा ग्रेस इन्टरनेसनल, गोल्ड प्रायोजकमा चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसनरआईआईई र बैंकिङ पार्टनरमा एनएमबी बैंक रहेका थिए। यस अगाडि मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गरेका थिए । नेपालभर हाल ७ सय २० परामर्श केन्द्र शिक्षा मन्त्रालयमा सूचीकृत रहेको बताइएको छ । गण्डकी प्रदेशका विद्यार्थीलाई लक्षित गरेर नेपाल सरकारबाट स्वीकृतिप्राप्‍त कन्सल्टेन्सी मात्रै शैक्षिक मेलामा सहभागी गराइएको आयोजककाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0