पोखरा । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमामा हालसम्म २२ लाख घरधुरीका ६५ लाख नेपाली जोडिएको जानकारी दिएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसरी बीमा गरेका मध्ये आधा बीमकले सेवा लिइरहेका छन् । हाल ५० हजार बीमकले दैनिक सेवा लिने गरेकोसमेत उनले जानकारी दिए । हाल देशभरका ५०२ वटा अस्पताल स्वास्थ्य बीमामा सूचिकृत भई सेवा दिइरहेको र त्यसमध्ये ४५४ वटा सरकारी र ४८ वटा निजी अस्पताल रहेको उनले बताए ।

उनले स्वास्थ्य बीमातर्फ नागरिकलाई आकर्षित गर्न नसक्दा अपेक्षाकृत रुपमा नागरिक लाभान्वित हुन नसकेको बताए । स्वास्थ्य बीमाको फाइदाबारे आमनागरिकसम्म अझैपनि सूचना पुर्‍याउन नसकिएको कारण धेरैभन्दा धेरै नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उनको भनाइ थियो ।

नागरिकको सहजताका लागि गत साउन एक गतेदेखि देशका जुनसुकै अस्पतालबाट सेवा लिन पाउनेगरि व्यवस्था गरिएको निर्देशक काफ्लेले खुलाए । यसअघि बीमा गरेको चौथो महिनाबाट मात्र सेवा दिने गरिएकोमा गत साउनदेखि बीमा गरेको एक महिनामै स्वास्थ्य उपचार सेवा लिन सक्ने व्यवस्था मिलाइएको उनको भनाई छ । यसबाहेक आठ प्रकारका कडा रोगको उपचारका लागि पुरानै बीमा रकममा थप एक लाखसहितको उपचार सेवा लिन सकिने र विपन्न परिवारका लागि बीमा शुल्क समेत पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था गरिएको बताए ।

भन्नेबित्तिकै नगद निकाल्न नसक्ने, पटक पटक बिरामी भइराख्ने र ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम निकै उपयोगी भएपनि उचित प्रचारप्रसारको अभावमा गण्डकी प्रदेशमा अझैपनि आधाभन्दा बढि नागरिक अझै स्वास्थ्य बीमा कार्यक्रमको पहुँच बाहिर रहको बताए । गण्डकीका आधाभन्दा बढि स्थानीय तहमा अझैपनि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू नरहेको र स्थानीय बीमा संयोजक समेत नरहेको कारण बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको कार्यकारी निर्देशक काफ्लेको भनाई छ ।

स्वास्थ्य बीमा बोर्डले बीमा सुविधामा देखिएका समस्याको सुधार गर्दै गएको काफ्लेको भनाई छ । स्वास्थ्य बीमामार्फत अस्पतालमा उपचार सेवा लिन जाँदा सर्भरमा आएको समस्याका कारण बिरामीहरू लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटाउन सर्भरको क्षमता बढाउने काम भइरहेको उनले बताए ।  उनले बीमाको दुरुपयोग गर्ने प्रवृत्ति समेत बढिरहेको बताउँदै बीमा रकम सकाएरै छोड्ने मनसायले अनावश्यक रुपमा बीमा सुविधाको प्रयोग नगर्न आग्रह गरे । अस्पतालहरूमा बिरामी नहुँदासमेत बीमा सुविधामार्फत अनावश्यक चेकजाँच र औषधी खरिद गर्ने काम हुने गरेको बताउँदै यस्तो क्रियाकलाप नगरी सभ्य नागरिक बन्न समेत उनले आग्रह गरेका छन् । असोजसम्म नवीकरण गर्नेलाई थप शुल्क नलिईने पनि उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0