पोखरा । सरकारले असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको प्रति नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, कास्कीले व्यवसाय र अस्तित्वमाथि प्रहार भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सरकारको यो निर्णय अव्यवहारिक र असान्दर्भिक रहेको भन्दै सङ्घले सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

नेपाल कमर्सियल आर्टिस्ट सङ्घ कास्कीका अध्यक्ष रमेश कुमार राईले सरकारको यो निर्णयले झण्डै एक लाख कलाकारको रोजीरोटी नै खोसिने अवस्थामा पुगेको बताए । उनले पोखरामा नै कैयौँ कलाकार  नम्बर प्लेट लेखन र जडान गरेर नै गुजारा गरिरहेको बताउँदै ती व्यक्तिहरू पसल नै बन्द गर्न बाध्य हुने बताए ।

सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा दक्ष जनशक्तिलाई निरुत्साहित गर्ने काम भएको उल्लेख छ । इम्बोस्ड जडानका लागि सरकारले जिम्मा दिएको बङ्गलादेशी कम्पनी डेकाटुर टाइगर विश्व बैङ्कको विवादित सूचीमा रहेको सङ्घको दावी छ । इम्बोस्ड नम्बरमा जडान हुने सफ्टवेयरको माध्यमबाट नेपाल र नेपालीको विवरण विदेशी कम्पनीहरूको पहुँचमा जाने भएको हँदा गोपनीयता भङ्ग भै आन्तरिक सुरक्षामा गम्भीर असर पर्ने सङ्घको दाबी छ ।

अध्यक्ष राईले देशका ७७ वटै जिल्ला सङ्घहरूले एकसाथ ध्यानाकर्षण पत्र बुझाउने केन्द्रिय परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको बताए । नेपाली नागरिक तथा नेपाली सवारी साधनको सुरक्षा ट्रयाकिङ जस्तो कार्य अन्तर्राष्ट्रिय कम्पनी तथा एजेन्सीलाई दिनु राष्ट्रघात भएको बताउँदै उनले  यस्ता कार्य तुरुन्त बन्द गर्नुपर्ने बताए । माग सुनवाई नभए देशव्यापी आन्दोलनको तयारी गरिरहेको समेत अध्यक्ष राईको भनाई छ ।

गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको सातै प्रदेशका मन्त्री तथा सचिवको बैठकले असोज १ देखि इम्बोस्ड अनिवार्य गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै आफ्ना सवारी साधनमा इम्बोस्ड जडान गर्न भनेको हो ।  सरकारको यो निर्णयको सरोकारवाला पक्षहरूले  विरोध गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0