पोखरा । पोखरा सिर्जनाचोकस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई सोमबारदेखि बचत रकम फिर्ता गर्न सुरु गरिएको छ । एक लाख रुपैयाँसम्म बचत गरेका १ सय ५८ जनाको बचत रकम फिर्ता गर्न सुरु गरिएको इमेज सहकारी सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए ।
पर्वतस्थित मीना ग्रुप प्रालिलाई सहकारीका सञ्चालक देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा पोखरा, चितवन र काठमाडौंमा रहेका घरघडेरी चलनचल्तीको मूल्यमा दिने र मीना ग्रुपले पहिलो चरणमा साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने सम्झौता बमोजिम रकम फिर्ता गरिएको हो । मीना ग्रुप, नेपाली र सङ्घर्ष समितिका पदाधिकारीबीच यस्तो सम्झौता भएको थियो । मीना ग्रुपले बचतकर्तालाई कुमारी बैङ्कको चेक दिएको छ । सो चेक कुमारी बैङ्कमार्फत नै साट्न संयोजक कार्कीले आग्रह गरे ।
सम्झौता अनुसार यसअघि उक्त सहकारीको बागलुङ, गलकोट र बुर्तिबाङ शाखाका साना बचतकर्ताको रकम फिर्ता भइसकेको कार्कीले बताए। एकलाख रुपैयाँ भन्दा माथिका बचतकर्ताको हकमा मिलापत्रलाई अघि बढाइएको कार्कीले बताए । घरजग्गा नपाउन्जेल सम्मका लागि देवकुमारका दाजु ओमकुमार दर्जीसंग तमसुक गर्दै मिलापत्र गरिएको उनको भनाई छ ।
बागलुङका ३ शाखाका १५ सय ७४ जनामध्ये १५ सय ६ जनासँग मिलापत्र भइसकेको उनले जनाए । बागलुङमा १ अर्ब ३८ करोड रकम फिर्ता गर्नुपर्नेमा १ अर्ब २० करोड बराबरको मिलापत्र भइसकेको छ । पोखराको हकमा ५२४ जनाको ५७ करोड रुपैयाँ दावी गरिएकोमा ३ सय ८७ जनासँग मिलापत्र भएको संयोजक कार्कीले बताए । कार्कीले आफ्नो पनि ६५ लाख रुपैयाँ सहकारीमा फँसेको बताए ।
आफूले खाइनखाई बचतका लागि सहकारीमा राखेको रकम डुबेर चिन्तामा रहेका साना बचतकर्ता रकम पाएपछि खुशी देखिन्थे । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा देवकुमार नेपाली पुर्पक्षका लागि हाल थुनामा छन् । उनी बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत हुन् ।
















