पोखरा । पोखरा २८ ठूलाकोटमा आयोजित वडा स्तरीय तेस्रो खुला तीज गीत प्रतियोगिता २०८२ मा स्याङखुदी कृषक समुह प्रथम भएको छ । कुल २२ टिम सहभागी बनेको प्रतियोगितामा प्रथम भएको स्याङखुदीले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो । 

प्रतियोगितामा शान्ति मैदान कृषक समुह द्वितीय, जनज्योति मावि शिक्षिका समुह तृतीय र कालिका महिला स्वयंसेविका समुह सान्त्वना भए । द्वितीय हुने समुहले १० हजार, तृतीय हुने समुहले ७ हजार र सान्त्वना हुने समुहले ५ हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरे । बाल समुहले प्रोत्साहन पुरस्कार प्राप्त गर्‍यो। विधागत तर्फ उत्कृष्ट नृत्यतर्फ राधा भुजेल, उत्कृष्ट भेषभुषातर्फ अन्नपूर्ण आमा समुह, उत्कृष्ट समुह आरुपाटा महिला समुह अब्बल ठहरिए । ती टिमले नगद २ हजार रुपैयाँ प्राप्त पारे । 

प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेल रहेका थिए । सदस्यमा लोक कलाकार सरस्वती परियार र रविन खड्का रहेका थिए ।  

महिला सञ्जाल पोखरा २८ को आयोजनामा हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको सन्दर्भ पारेर भएको प्रतियोगितामा बोल्दै प्रमुख अतिथि पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले तीज संस्कृतिको जगेर्ना गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै  उनले  साथ र सक्रिय अझै बढाउन आग्रह गरे ।

कार्यक्रम संयोजक तथा पोखरा २८ को वडा सदस्य डाल्डादेवी भुजेलले विगत तीन वर्षदेखि निरन्तर तीज गीत प्रतियोगिता गर्दै आएको बताइन् । तीज भन्ने बित्तिकै नारीहरूले आफ्नो वेदना पोख्ने, दुःख सुख साटासाट गर्ने पर्व भएकाले विषयवस्तु नतोकेर  खुला तीज गीत प्रतियोगिता राखिएको बताइन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. शान्ता खत्रीले बोलेको कार्यक्रममा स्वागत महिला सञ्जालकी देवका गिरी र सञ्चालन सञ्चारकर्मी सरला त्रिपाठी भण्डारीले गरेका थिए ।

‘हामी जुट्छौ संस्कृति जगेर्ना सँगै पर्यटन प्रवर्द्धनमा’ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२८ कार्यालयको समन्वय र सहयोग रहेको थियो । लोकसंस्कृतिको जर्गेना, महिला सशक्तीकरण तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले  पर्यटकिय ठाउँ ठूलाकोटमा कार्यक्रम भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0