पोखरा । नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ । आइतबार अध्यक्ष  विपुल पोख्रेलले प्रेस विज्ञप्ति मार्फत गराएको जानकारी अनुसार महासङ्घको सबै तहको निर्वाचन असोज ५ गते एकसाथ हुनेछ । जसको लागि निर्वाचन समितिलाई पत्राचार गरिसकिएको छ ।

‘महासङ्घ आफैँमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पार्न चाहन्छु । घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु । महासङ्घले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु । नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, श्रम अधिकार र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासङ्घको महाधिवेशन सम्पन्न भई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा केही विलम्ब हुनगएको सन्दर्भ यहाँहरूमा विदितै छ ‘ विज्ञप्तिमा भनिएको छ।

नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासङ्घसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक भएको अध्यक्ष पोख्रेलले बताएका छन्  ।

विज्ञप्तिमा भनिएको छ- ‘समग्र नेपाली पत्रकारिता जगत सङ्कटको घेरामा परेको बेला महासङ्घको नेतृत्व समयमै चयन भई आइपर्ने सबैखाले चुनौती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैँमा महत्वपूर्ण मात्र होइन महासङ्घप्रतिको भरोसाका रुपमा समेत लिन सकिन्छ । केही अप्ठ्याराहरूका बीच पनि महासङ्घ आफ्नो उद्देश्य र गन्तव्यमा प्रष्ट रहेको विश्वास दिलाउन चाहन्छ’  ।

महासङ्घमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धिकरणमा यो पटक महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गरिएको छ । यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरण पेशागत शुद्धता र महासङ्घको शुद्धिकरणको लागि महत्वपूर्ण हुने विश्वास महासङ्घको छ । शुद्धिकरणको क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकतासमेत देखेको अध्यक्ष पोख्रेलले प्रष्ट पारेका छन् । असोज ५ गते महासङ्घको सबै तहको निर्वाचन एकसाथ सम्पन्न हुने निर्वाचनलाई सफल बनाउन सबैसँग उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0