पोखरा ।  तनहुँ जिल्ला अदालतमा आर्थिक वर्ष ०८१/०८२ मा ७० दशमलव शून्य तीन प्रतिशत मुद्दा फछर्यौट भएको छ । तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यले कोटखबरलाई दिएको जानकारी अनुसार  आर्थिक वर्ष ०८१/०८२ मा जिम्मेवारी सरी आएका ७ सय ३८ थान र नयाँ दर्ता १ हजार ७ सय ५४ थान गरी जम्मा कूल लगत २ हजार ४ सय ९२ मध्ये १ हजार ७ सय ४५ थान फछर्यौट भएका हुन् ।

नयाँ आर्थिक वर्ष ०८२/०८३ का लागि ७ सय ४७ थान मुद्दाको  जिम्मेवारी सरेको स्रेस्तेदार आचार्यले खुलाए । जिम्मेवारी सरेकोमा २ वर्ष नाघेका मुद्दा बाँकी छैनन् । १८ महिना नाघेका मुद्दा १६ थान रहेका छन् ।

आर्थिक वर्ष ०८१/०८२ मा नयाँ दर्ता अनुमान १ हजार ९ सय १९ गरिएकोमा १ हजार ७ सय ५४ अर्थात १ सय ६५ थान मुद्दा कम दर्ता भएका हुन् । नयाँ दर्ता भएका मुद्दाहरू मध्ये दुनियाँवादी देवानी १ हजार २ सय ३, दुनियाँवादी फौजदारी २ सय २, सरकारवादी फौजदारी ३ सय ३९, रिट ६, पुनरावेदन देवानी ३, पुनरावेदन फौजदारी १ थान दर्ता भएको उनले बताए ।

 नयाँ दर्ता मध्ये सबै भन्दा धेरै ६ सय ६३ थान सम्बन्धविच्छेदका मुद्दा छन् ।  अंश सम्बन्धी २ सय १२, लेनदेन ७५, जालसाजी ८७, चेक अनादर ८५, बैंकिङ कसूर ७०, लागूऔषध ६९, जवरजस्ती करणी २९, सवारी ज्यान सम्बन्धी ३५ थान मुद्दा  दर्ता भए। फछर्यौट मध्ये मिलापत्र भएका मुद्दा ६ सय ३७ मा मेलमिलापको माध्यमबाट ४३ थान मिलापत्र भएको बताइएको छ ।

 फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सरेका निवेदन १ सय ७ र यस वर्ष परेका तीन सय गरी जम्मा लगत ४ सय ७ कायम भएकोमा फछर्यौट २ सय ४१ थान भइ बाँकी १ सय ६६ थान रहेकोमा फछर्यौट प्रतिशत ५९ दशमलव २१ प्रतिशत रहेको जनाए । दण्ड जरिवाना तर्फ असुल उपर गर्नुपर्ने जरिवाना ५० करोड ९२ लाख ९८ हजार ७ सय ६६ रुपैयाँ र  कैद तर्फ ३ सय ५८ वर्ष ०९ महिना २८ दिन बाँकी रहेको स्रेस्तेदार आचार्यले कोटखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0