पोखरा । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष ०८१/०८२ मा ७० दशमलव ५१ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । मुद्दा फर्छ्यौट सङ्ख्या अनुसार कास्की जिल्ला अदालतमा विगत ५ वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी प्रतिशत मुद्दा फैसला भएको हो ।
यस अदालतमा गत आर्थिक वर्ष ०८०/०८१ बाट जिम्मेवारी सरी आएको २ हजार ६ सय ५९ थान मुद्दा रहेका थिए । आ.व. ०८१/०८२ मा ४ हजार २ सय ६६ थान मुद्दा दर्ता भए । यसरी कुल ६ हजार ९ सय २५ थान मुद्दामध्ये यस आ.व.मा ४ हजार ८ सय ८३ मुद्दाहरू फर्छ्यौट भएको स्रेस्तेदार राजन खनालले कोटखबरलाई जानकारी दिए । यो फर्छ्यौट कुल लगतको ७० दशमलव ५१ प्रतिशत हो ।
स्रेस्तेदार खनालले यस आर्थिक वर्षमा कास्की जिल्ला अदालतले ४ हजार ७ सय ९२ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ४ हजार ८ सय ८३ थान अर्थात् लक्ष्यको १०१ दशमलव ८९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको खुलाए ।
पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा यस अदालतमा आ.व. ०७६/०७७ मा ४७ दशमलव ९५ प्रतिशत, आ.व. ०७७/०७८ मा ५० दशमलव ८४ प्रतिशत, आ.व. ०७८/०७९ मा ५५ दशमलव २ प्रतिशत, आ.व. ०७९/०८० मा ६४ दशमलव ६४ प्रतिशत, आ.व. ०८०/०८१ मा ६३ दशमलव २० प्रतिशत फर्छ्यौट भएको देखिन्छ । यसरी विगत ५ वर्षको तथ्याङ्क हेर्दा यस आर्थिक वर्षमा अहिले सम्मकै बढी ७० दशमलव ५१ प्रतिशत मुद्दा फर्छ्यौट भएको हो ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २ हजार ६ सय ५९ मुद्दामध्ये २ बर्ष नाघेका १७ थान र १८ महिना नाघेका ८२ थान मुद्दाहरू रहेकोमा यस आर्थिक वर्षमा बाँकी रहेका २ हजार ४२ थान मुद्दामध्ये २ वर्ष नाघेका मुद्दाहरू ७ थान र १८ महिना नाघेका ३१ थान मुद्दाहरू रहेको स्रेस्तेदार खनालले जनाए।
कास्की जिल्ला अदालतमा कूल आठ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल सात जना न्यायाधीश कार्यरत छन् । गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये कास्की जिल्ला अदालत सबैभन्दा बढी मुद्दाको चाप भएको अदालत हो । जनशक्ति र भौतिक पूर्वाधारको अभाव सहितका चुनौतीहरू खेपिरहेको यस अदालतले यस किसिमको उपलब्धि हासिल गर्नु प्रशंसनीय कार्य रहेको दावी गरिएको छ ।
















