पोखरा । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखा लामो समयदेखि नेतृत्वविहीन भएको छ । अध्यक्ष प्रभु अधिकारी वैदेशिक यात्राको सिलसिलामा गत असोजमा जापान गएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष अर्पण तिवारीले पाएका थिए । तर, तिवारी पनि गत चैत्रमा वैदेशिक यात्राको सिलसिलामा अमेरिका हानिएपछि सङ्घ कास्की नेतृत्वविहीन भएको हो । जसका कारण सङ्घका गतिविधि प्रभावित भएका छन् । 

पछिल्लो समयमा चलचित्र पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएको कारण यस तर्फको आकर्षण बढाउन संस्थागत मेहनत गर्नुपर्ने टड्कारो आवश्यकता भएपनि सङ्घ आफै समस्यामा परेको छ । केही सदस्यले विशेष अधिवेशन गरेर नेतृत्व चयन गरेर सङ्घका गतिविधि बढाउनुपर्ने माग गरेपनि त्यतातर्फ ध्यान पुग्न सकेको देखिदैन । यो विषयमा चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीसँग बुझ्दा उनले कास्की शाखालाई गत फागुन महिनामा नै विशेष अधिवेशन गर्ने जिम्मेवारी दिएको भएपनि अहिलेसम्म हुन नसकेको बताए । आफूले तीन महिना अगाडि नै उपलब्ध कार्यसमिति र आवश्यकताको आधारमा सिनियर पत्रकार र पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीको सल्लाहमा केन्द्रलाई जानकारी गराए केन्द्रले प्रतिनिधि पठाइदिन्छ अनि विशेष अधिवेशन गर्नु भनेको भएपनि त्यसो हुन नसकेको प्रष्ट पारे । 

आगामी पुषसम्ममा देशभरका सबै शाखाको अधिवेशन गर्नुपर्ने भएकोले अब भने नियमित अधिवेशननै गर्दा हुने उनले बताए। ‘अब विशेष अधिवेशन भनिराख्नु पर्दैन, अब नियमित अधिवेशन गरे हुन्छ, मंसिर, पुष सम्म देशभरीका १४ वटै शाखाले अधिवेशन सक्नुपर्छ’ उनले भने । अबको एक दुई हप्तामा सकभर देशभरीकै शाखाको अधिवेशन दशैँ अगाडि सक्न परिपत्र आउने उनको भनाइ थियो । 

त्यसोत जुनबेला चलचित्र पत्रकार सङ्घको स्थापना केन्द्रमा भएको थियो । संस्थाका गतिविधि प्रायः काठमाडौँ उपत्यकामा सीमित थिए । फिल्मको मुख्य बजार काठमाडौँ उपत्यका थियो । तर, दोस्रो बजारको रुपमा पोखरा, धरान नारायणगढ, बुटबल, सुर्खेत, बिर्तामोड जस्ता ठाउँलाई चिनिन्थ्यो । दोस्रो बजारको रुपमा चिनिएका उपत्यका बाहिरका ठाउँबाट हुने आम्दानी तथा दर्शकको सर्पोटले चलचित्रकर्मी माझ महत्व राख्थ्यो । केन्द्रले उपत्यका बाहिरका ठाउँमा चलचित्र पत्रकार सङ्घको शाखा खोल्ने योजना बनायो ।

सोही समयमा पोखरामा समेत चलचित्र पत्रकारिता गर्ने उपयुक्त ठाउँ पोखरा हुनसक्छ भनेर काम हुँदै थियो । पोखरामा चलचित्र सम्बन्धी गतिविधि धेरै हुन्थे । आधिकांश चलचित्रको छायाँङ्कन पोखरामा हुने गर्दथ्यो । त्यतिमात्र नभएर नेपाली चलचित्रलाई माया गर्ने दर्शकको भिड पोखरामा देखिन्थ्यो । फलस्वरुप दर्शकको ध्यान तान्न चलचित्रकर्मीको आगमन पोखरामा बारम्बार भइरहन्थ्यो । चलचित्र क्षेत्रका विभिन्न क्रियाकलाप पोखरामा भएपनि त्यस्ता सामाग्री प्रकाशन गर्न सजिलो थिएन । मनोरञ्जन क्षेत्रका गतिविधिलाई समाचारको रुपमा प्रकाशन गर्ने अभ्यास थोरै थियो । आफ्ना सामाग्रीले कम महत्व पाउँदा यो क्षेत्रमा कलम चलाउने र आवाज बुलन्द पारेर अगाडि बढ्न खोज्ने सञ्चारकर्मी चिन्तित थिए । सामुहिक रुपमा अगाडि बढ्न सके यो क्षेत्रमा आकर्षण बढ्ने उनीहरुको विश्वास थियो । किनकी त्यतिबेला मनोरञ्जन क्षेत्रका गतिविधि समावेश गरेर राजधानीबाट प्रकाशित हुने पत्रिका युवा पुस्ताको रोजाइमा पर्थे । 

यसैगरी मनोरञ्जन गतिविधिलाई स्थान दिने टेलिभिजन कार्यक्रममा दर्शक झुमिन्थे । मनोरञ्जनात्मक रेडियो कार्यक्रमप्रति समेत श्रोतामा चाख थियो । संघनै बनाएर पत्रकारलाई आवद्ध गर्ने र चलचित्र पत्रकारितालाई व्यस्थित रुपमा अगाडि बढाउने यहाँका पत्रकार तथा सञ्चारकर्मीको उद्धेश्य केन्द्रको शाखा विस्तार गरेर गतिविधि गर्ने उद्धेश्यसँग मेल खायो । फलस्वरुप चलचित्र पत्रकार सङ्घ केन्द्रका संस्थापक भरत शाक्यको प्रमुख आतिथ्यतामा चलचित्र पत्रकार सङ्घ पोखरा शाखा २०६० साल असार २२ गते स्थापना भयो । शुरुमा पोखरा शाखा भनिएपनि अहिले यसलाई कास्की शाखा भन्ने गरिन्छ । शाखाले यहाँको चलचित्र पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन मलजल गरिरहेको छ । 

चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देल हुन् । त्यसपछि शिव शर्मा चञ्चल र रेम रसाईलीले नेतृत्व सम्हाले । त्यसपछिका अध्यक्ष अरुण गिरीले भने राजनीति तर्फ यात्रा मोड्दै पुरा कार्यकाल नेतृत्व सम्हालेनन् । गिरीले राजीनामा दिएपछि सन्तोष सुवेदीले केही समय कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सुवेदी कार्यबाहक अध्यक्ष रहेकाे बेला भएकाे पाँचौ अधिवेशनबाट प्रभु अधिकारी नेतृत्वमा आएका थिए ।

सङ्घको कास्की शाखामा सदस्यको संख्या समेत घट्दै गएको छ । कुनै समय ५० भन्दा बढी सदस्य सङ्घ कास्कीमा भएपनि अहिले सदस्य संख्या ५० भन्दा कम रहेको बताइएको छ । संघमा आवद्ध सदस्य वैदेशिक यात्रामा जाने मात्र नभएर पेशाबाट विस्थापित हुने क्रमले समेत सदस्यको संख्या बढन् सकेको छैन ।

शाखाहरुले अब नयाँ सदस्यता समेत आब्हान गर्न सक्ने केन्द्रीय अध्यक्ष बलामीले बताए । त्यसका लागि न्युनतम मापदण्ड पुरा भएको हुनुपर्ने र सदस्यताकोको लागि शाखाले केन्द्रमा सिफारिस गरेर पठाउने र आवश्यक छानबिन पछि केन्द्रले सदस्यता स्वीकृत गर्ने बताए । कुनै शाखाले योग्यता पुगेका सदस्यलाई सदस्यता पाउनबाट बञ्चित गरेमा त्यस्तो योग्यता भएकाले सिधै केन्द्रमा निवेदन दिन सक्ने र त्यसरी निवेदन दिएका उपर आवश्यक पक्रिया पुरा गरी सदस्यता प्रदान गरिने उनले प्रष्ट पारे।

सङ्घ कास्कीको २२ औँ स्थापना दिवसको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने तयारी गरिएको छ । जुन कार्यक्रममा संघलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल समेत हुनेछ । छलफलबाट अधिवेशनको मिति तय हुने सम्भावना समेत रहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0