पोखरा । मदन भण्डारी फाउण्डेसन गण्डकीको भेलाले अध्यक्ष लक्ष्मण गिरीको नेतृत्वमा १५ सदस्यीय गण्डकी प्रदेश कमिटी गठन गरेको छ । जननेता मदन भण्डारीका दर्शन, विचार र योगदानलाई जनता समक्ष पुर्याउने उद्देश्यले स्थापित फाउण्डेसनको गण्डकी कमिटीको सचिव मनकुमार श्रेष्ठ, कमिटीको सदस्यमा विकास गौतम, सीता अधिकारी, भवानी केसी, घनश्याम सुवेदी, नर्वु घले, दीपक शर्मा, पानप्रसाद तिमिल्सिना, श्रीकृष्ण पराजुली, विनोद केसी, रेशम छन्त्याल र तारा शर्मा चयन भएका छन् । कमिटीले गण्डकीका सबै जिल्लाको अधिवेशन गर्ने योजना बनाएको छ ।
यस अगाडि नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव पद्मा अर्यालले भेलाको उद्घाटन गर्दै पार्टीमा मौलाएको गुटबन्दीले नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्न नसकिएको बताइन् । उनले नयाँ पुस्ता एमाले भएर पार्टीमा आउने वातावरण नभएको चर्चा गरिन् ।
सामाजिक सञ्जालमा आएको गलत सूचनाले पार्टीमा हल चल ल्याउन नहुने उल्लेख गर्दै उनले पार्टी भित्र सङ्गठनात्मक अराजकता र निजी स्वार्थले प्राथमिकता पाएको बताइन् । आम निराशाको प्रमुख कारण सामाजिक अराजकता भएको उल्लेख गर्दै उनले अराजकताले पार्टी पंक्त्तिमा हलचल पार्टी निर्माणको लागि प्रमुख चुनौती भएको टिप्पणी गरिन् ।
जवज एमालेका मार्ग दर्शक सिद्धान्त बनेको जानकारी दिदैँ उनले जवज नेपालको लागि नभएर विश्व कम्युनिस्ट आन्दोलनको लागि प्रेरणाको श्रोत बनेको दाबी गरिन् । उनले जवज राष्ट्रियता, आन्तरिक लोकतन्त्र र समाजवादमा जानको लागि त्रिवेणी सन्देश दिएको बताइन् । उनले सत्ता प्राप्तिको लागि नभएर सिद्धान्त र निष्ठाको राजनीति गरेको जानकारी दिइन् ।
उनले सामाजिक संस्थाको रुपमा रहेको फाउण्डेसनले मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई पुस्तान्तरण गर्न आग्रह गरिन् । अरु पार्टीका मान्छेलाई एमालेमा ल्याउन सुझाव दिइन् । नयाँ पुस्तालाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचार जनताको बहुदलीय जनवाद ‘जवज’ले प्रशिक्षित गरेर पार्टीमा ल्याउन अनुरोध गर्दै उनले जवजको वैचारिक बहस गर्न गण्डकीमा अध्ययन केन्द्र खोल्न आग्रह गरिन् ।
प्रतिष्ठाले नयाँ पुस्ताले जवज बुझ्ने माध्यम तयार गर्नु पर्ने चर्चा गर्दै उनले आउने पुस्तासम्म मदन भण्डारीले प्रतिपादन गरेको विचार पुग्न पर्ने बताइन् । उनले मदन भण्डारीसँग जोडिएका विषयवस्तु तथा गण्डकीका बामपन्थी नेताको सूची तयार गरेर जीवनीलाई समेटेर सँगालो प्रकाशन गर्न सुझाव दिइन् ।
कार्यक्रममा एमालेका पोलिट व्युरोका सदस्य जगत विश्वकर्माले एमालेको मार्ग दर्शक सिद्वान्तको रुपमा रहेको जवजले पार्टीलाई नीति विचार र सांगठनिक हिसाबले उचाईमा पुर्याएको जानकारी दिए । उनले नयाँ पुस्तालाई विचारले प्रशिक्षित गर्नु पर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य राजिव पहारीले राजनीति स्वार्थ, अवसरवाद र व्यक्तिवादमा केन्द्रीत हुन थालेको परिवेशमा मदन भण्डारीको आदर्श झनै सान्दर्भिक हुने बताए । नयाँ पुस्ताले मदनको विचारबाट शिक्षा लिनु पर्ने उल्लेख गर्दै उनले मदन जस्तै सिद्धान्तमा अडिक भएर व्यवहारमा प्रगतिशील बन्नु आजको आवश्यकता भएको चर्चा गरे ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा मदन भण्डारी फाउण्डेसन गण्डकी प्रदेशका संयोजक दामोदर पौडेल बैरागी, मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्यहरु डा भेषराज अधिकारी र सन्तोष रावलले जननेता भण्डारीका दर्शन, विचार र योगदानलाई जनता समक्ष पुर्याउने काम फाउण्डेसनले गरेको बताए ।
