पोखरा । गिरिजा प्रसाद कोइराला फाउन्डेसन पोखरा महानगर समिति कास्कीको आयोजनामा शान्ति र गणतन्त्र स्थापनामा गिरिजा प्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीको आयोजना भएको छ । नेपाली काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मोत्सवका अवसरमा शनिबार होटल दिपसागरमा कार्यक्रम आयोजना गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको विचार गोष्ठी कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेपाली काङ्ग्रेसका नेता पूर्व अर्थमन्त्री महेश आचार्य रहेका थिए ।
प्रमुख अतिथि पाण्डेले जे बोल्थे त्यही गर्ने हक्की स्वभावका नेताका रुपमा गिरिजा प्रसाद कोइरालाको स्मरण गरे । गिरिजा प्रसाद कोइरालाको जस्तो आँट, विश्वास र भरोसा भएको नेताको खाँचो आजको राजनीतिमा आवश्यक रहेको बताए । हिजो पार्टीले गरेको सकारात्मक कामको प्रचार गर्दै जनमत सिर्जना गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो । आफू नेतृत्वको गण्डकी प्रदेश सरकारले केही महत्वपूर्ण काम गरेपनि त्यसको उचित प्रचारप्रसार हुन नसकेको उनको गुनासो थियो ।
पूर्वअर्थमन्त्री समेत रहेका प्रमुख वक्ता आचार्यले जनतासँगको प्रत्यक्ष सम्बन्ध, जनतालाई भेटेर पीडा एकीकृत गर्ने शैली र ती पीडालाई नीति तथा कार्यक्रम मार्फत बनाउने र यसरी बनाएको नीति कार्यक्रम कार्यान्वयन गर्ने कुरा सबै नेताले सिक्नुपर्ने बताए। उनले कोइरालाले नेपालको विकास निर्माणमा गरेको योगदानको बारेमा चर्चा गरेका थिए । पार्टी र सङ्गठन निर्माण तथा सञ्चालनका लागि के कुरा लिन सकिन्छ भन्ने कुरा गिरिजाप्रसाद कोइरालाको जीवनबाट जान्न सकिने बताए । अहिले नेपालमा सर्वस्वीकार्य र प्रभावशाली नेताको आवश्यकता भएको बताए । सर्वमान्य सिद्धान्त र सङ्गठनको संरचना नेपाली राजनीतिमा आवश्यक रहेको उनको भनाई थियो ।
गोष्ठीमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश समिति उपसभापति मेखलाल श्रेष्ठ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति कृष्ण बहादुर केसी, नेता देवराज चालिसे, गण्डकी प्रदेश सभामा नेपाली काङ्ग्रेस संसदीय दलको सचेतक प्रकाश बराल, फाउन्डेसन कास्की संयोजक विजयराज आचार्य, गण्डकी महासचिव नरेन्द्र कडेल, गणेशमान फाउन्डेसन गण्डकी सभापति दुर्गा सुवेदी, नेपाल महिला सङ्घ कास्की सभापति मिना पाण्डे, नेपाली लेखक सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, संविधान सभा सदस्य शारदा पौडेल लगायतले बोलेका थिए । गिरिजा प्रसाद कोइराला फाउन्डेसन कास्की जिल्लाको संस्थापक सभापति यादवराज अधिकारीले पोखरा १८ मा पूर्ण कदको सालिक निर्माण गर्न लागिएको बताए । फाउन्डेसनको जिल्ला शाखालाइ पुनर्गठन गरेर गतिशील बनाउने योजनाका साथ अगाडि बढेको उनले खुलाए । कार्यक्रममा बसन्त चालिसेले गिरिजाप्रसाद कोइरालाको बारेमा कविता सुनाएका थिए ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन पोखरा महानगर समिति सभापति प्रेम प्रसाद कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राजेन्द्र निधि कोइरालाले स्वागत र पोखरा महानगर समिति सचिव भरतराज पौडेलले सञ्चालन गरेका थिए ।
