पोखरा । अन्तर्राष्ट्रिय योग दिवस पोखरामा मनाइएको छ । दिवसका अवसरमा भारतीय राजदूतावासले पोखरामा बृहद् योग शिविर सञ्चालन गरेको थियो। दुतावासले सन् २०२३ देखि यो दिवसको अवसरमा पोखरामा कार्यक्रम गर्दै आइरहेको छ ।

शिविरलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले विश्वलाई नयाँ प्रेरणा दिइरहेको बताए । हरेक वर्ष कार्यक्रम आयोजना गरेर गण्डकी प्रदेशवासीलाई यसको महत्व र आवश्यकताको बारेमा जानकारी गराउँदै योगतर्फ प्रेरित गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकोमा भारतीय राजदूत नवीन श्रीवास्तव सहित भारतीय राजदूतावासलाई प्रदेश सरकार र गण्डकी प्रदेशवासीको तर्फबाट मुख्यमन्त्री पाण्डेले हार्दिक धन्यवाद व्यक्त गरे ।

उनले आजकल हाम्रो जीवनशैली अति व्यस्त भएकोले अव्यवस्थित खानपिन र मानसिक तनावका बीचमा जीवन बितिरहेको बताए । यो सन्दर्भमा योगले हाम्रो गतिविधिमा ठूलो प्रभाव पार्न सक्ने उनको विश्वास थियो । जीवनलाई सरल सहज र सन्तुलित बनाउन योगले ठूलो भूमिका खेल्न सक्ने उनले औँल्याए । योगलाई शारीरिक व्यायामको रुपमा नभइकन जीवन जीउने कलाको रुपमा अगाडि बढाउन सक्नुपर्नेमा उनको जोड थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले योगलाई प्राथमिकतामा राखेर गत वर्ष गण्डकी स्वजागरण अभियान सञ्चालन गरेको स्मरण गरे । गण्डकी प्रदेश योग अभ्यासका लागि उपयुक्त गन्तव्य समेत रहेको उनको भनाइ थियो । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई वेलनेस टुरिजम हबको रुपमा विकसित गर्ने भनेर नीति तथा कार्यक्रममा अवलम्बन र बजेटको व्यवस्था समेत गरिएको खुलाए । योगलाई समुदायस्तरमा पुर्याउन विद्यालयबाट नै योग शिक्षा र अभ्यास जरुरी रहेको भन्दै विद्यालयमा पाठ्यक्रमको रुपमा अगाडि बढाउने नीतिका साथ कार्य गर्न लागिएको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा योग संस्कृतिको विकासका लागि महानगर स्तरीय योग केन्द्रको समेत स्थापना गरिएको बताए । पोखरा महानगर क्षेत्रमा क्रियाशील योग केन्द्रहरूमा आवश्यक सामाग्रीहरूको समेत उपलब्धतामा महानगरले सहयोग गरिरहेको नगर प्रमुख आचार्यले बताए । योग मानव जीवनको महत्त्वपूर्ण पक्षका रूपमा चित्रण गर्दै उनले यो सबैका लागि अपरिहार्य रहेको बताए ।

भारतीय राजदूत नवीन श्रीवास्तवले पनि योग दिवस र नेपाल भारत सम्बन्धको बारेमा चर्चा गरे ।

पोखरा रङ्गशालामा आयोजना भएको शिविरमा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शिविरमा पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीले सहकार्य गरेका थिए ।

पर्यटन राजधानी पोखरालाई योग पर्यटनको हबका रूपमा विकास गर्न सकिने कयौँ सम्भावनाहरू रहेकामा सहभागीहरूले जोड दिएका छन् । हिमाल र तालको सहर पोखरा सुन्दर, शान्त र मनोरम प्रकृतिको काखमा बसेर योगाभ्यासका लागि निकै उपयुक्त रहेको उनीहरूको भनाई थियो ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0