पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को सम्पूर्ण तयारी पुरा भएको छ । प्रतिष्ठानका अध्यक्ष राजन कार्कीका अनुसार  विश्व सङ्गीत दिवसको दिन हुने सेमी फाइनल र फाइनल प्रतियोगिताको लागि १८ जना प्रतिभा छनोट भएका छन् । गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन्  ।

यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् । म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् ।

 नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ ।  प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीयले निःशुल्क एउटा अडियो रेकर्ड गर्ने अवसर समेत पाउनेछन् ।

प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् ।

असार ७ गते पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने प्रतियोगितामा प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्ने कार्यक्रम संयोजक सुवेदीले खुलाए । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।

प्रतियोगितामा मुख्य प्रायोजन पोखराको सिर्जनाचोकमा रहेको आरके हस्पिटालिटी ह्युमन रिर्सोस मेनेजमेन्ट प्रालिले गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0