पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौँ सेमेस्टरका विद्यार्थीहरूले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरूले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।
बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँवरले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरूले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् ।
यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए । कार्यक्रममा पत्रकारहरू शान्ति गुरुङ, शोभाकान्त सिग्देल र केशव शरण लामिछानेले विद्यार्थीहरूको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्याङ्कन गरेका थिए ।
पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरूबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाइ भएको कार्यक्रममा सहभागी विद्यार्थी अञ्जली पौडेलले बताइन् । पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन सङ्कायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरू बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।
