पोखरा । नेपाल खेलकुद महासङ्घ (नेकोस) प्रदेश कमिटी गण्डकीको आयोजनामा मैत्रिपूर्ण डोरीतान प्रतियोगिता हुने भएको छ । आसन्न दोश्रो अधिवेशन भव्यताका साथ सम्पन्न गर्न जनसहभागिता जुटाउन एवं अधिवेशनको प्रचार प्रसार गर्नको लागि प्रतियोगिता गर्न लागिएको सचिव ईश्वर अधिकारीले जानकारी दिए ।
प्रतियोगिताले खेल सङ्घहरूबीच भाइचारा वृद्धि गर्ने विश्वास गरिएको उनले बताए । सचिव अधिकारीले प्रदेशमा क्रियाशील ७ जनसङ्गठन र आयोजक बीच मैत्रिपूर्ण डोरीतान प्रतियोगिता हुने उल्लेख गरे ।
जेठ २९ गते बिहान ११ बजे अम्बोट खेल मैदान पोखरा २५ मा हुने मैत्रिपूर्ण प्रतियोगिताको तयारी भैरहेको उनले जनाए । नेकपा एमालेको जन सङ्गठनको रुपमा रहेको महासङ्घको जेठ ३० र ३१ गते अधिवेशनलाई भव्य बनाउनको लागि समेत तयारी तीव्र पारिएको उनले बताए ।
अधिवेशनमा नेकपा एमालेका उपमहासचिव एव सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी अध्यक्ष नवराज शर्मा, महासङ्घका अध्यक्ष परशुराम बस्नेत लगायतका अग्रज नेताहरूको उपस्थित रहनेछ । अधिवेशन माछापुच्छ्रे पार्टी प्यालेस पोखरा २५, हेम्जामा हुनेछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
