पोखरा । विद्यार्थीको अन्तरनिहित क्षमता विकास गर्ने उद्देश्यले पोखराको १५ ले वडा स्तरीय अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगिता आयोजना गरेको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा रेन्बो एकेडेमिक होमका विद्यार्थी विश्वास राना, भूमिका आले र आयुष विकको समुह प्रथम भयो । प्रथम भएको रेन्बोले ८ हजार नगदसहित प्रमाणपत्र हात पार्यो ।
प्रतियोगितामा दोस्रो भएको एसओएस हर्मन माइनरका विद्यार्थीले नगद ६ हजार, तेस्रो भएका विभूति शिक्षा सदनका विद्यार्थीले ४ हजार र सान्त्वना स्थान प्राप्त गरेको सेन्ट मेरिजका विद्यार्थीले ३ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पारेका वडा सचिव युवराज पौडेलले जानकारी दिए । प्रतियोगितामा वडा १५ भित्रका १२ विद्यालयको सहभागिता रहेको सचिव पौडेलले खुलाए ।
विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन हुन मद्दत पुग्ने भएकाले वडाले यस्ता कार्यक्रम गरिरहेको बताए । यसरी आयोजना भएका प्रतियोगिताले वडाका विद्यालयबीच आपसी सद्भाव वृद्धि हुने विश्वास उनको छ ।
अन्तरविद्यालय हाजिरीजबाफ प्रतियोगिता निरन्तर आयोजना गरिने वडा सदस्य आशिष भण्डारीले बताए । उनका अनुसार आगामी शुक्रबार कक्षा ५ देखि ७ सम्मका विद्यार्थीबीच अन्तर विद्यालय हाजिरीजबाफ प्रतियोगिता हुनेछ ।
