पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट चित्रकार र कविको जमघट भएको छ । कोटिहोमको दर्शन सँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोमम आएका चित्रकार र कविहरूले आफ्नो कलाको माध्यमबाट कोटिहोमको वर्णन गरेका थिए । कोटिहोममा आएका चित्रकारहरूले कोटिहोममा देखिएका दृश्य, धार्मिक पुरातात्त्विक सम्पदा, देवी देवताहरूको चित्र कलात्मक ढङ्गले कोरेका थिए । चित्रकलाले कोटिहोममा आएका भक्तजनलाई आकर्षित गरेको थियो ।
देशभरबाट आएका चित्रकारहरूको संयोजन गरेका श्याम फूयालले कोटहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई प्रदान गर्ने जानकारी दिए । यसै गरी कोटिहोममा सहभागी कविहरूले श्रुतिमधुर स्वरमा सनातन हिन्दु धर्म संस्कृतिका बारेमा उजागर गरेका थिए ।
कोटिहोममा आज नेपालकी कान्छी वाचीका देवी अनुराधा पाण्डेयको उपस्थिति रहेको छ । कोटिहोमको औपचारिक सुरुवात हुनु भन्दा पहिले प्रारम्भमा आएर प्रवचन गरेकी अनुराधा पाण्डेय आज कोटिहोम आएकी हुन् । भारतबाट अनुरुद्राचार्यका महाराज आफू आउन नभ्याएपछि आफ्ना छोराहरू अधिराज तिवारी शिव अध्याता तिवारी ओम कोटिहोममा आएका थिए ।
कोटिहोममा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री कुमार खड्काले हाम्रो धर्म संस्कृतिको रक्षा गर्नका यस्ता खालका कोटिहोम उपयोगी हुने बताए । कोटिहोम दर्शन गर्न आएकी मौलापुर नगरपालिका रौतहटकी मेयर रिना साइले भक्तजनको उत्साहजनक सहभागिताले कोटिहोम सफल भएको बताइन् ।
त्यसै गरी गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले पुण्य कार्यमा सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, शिव हमाल र घनश्याम रिजालको भजन प्रस्तुतिमा अतिथि तथा भक्तजन छमछम नाचेका थिए ।
भक्तजनको उपस्थिति बढ्दै गएपछि महायज्ञ जेठ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिले उद्घोष गरेका छन् ।
पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन् ।
कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी शुक्रबार क्षेत्री समुदायको पोसाकमा देखिने भएकी छन् ।
