पोखरा । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानले भगवान कृष्णको लिला चलचित्रमा उतार्ने भएको छ। नेपाली लोक भजन तथा बालन नाच (कृष्ण लिलाको) संरक्षण प्रवर्द्धन गर्दै आएको प्रतिष्ठानले कृष्णको लिला चलचित्र मार्फत देखाउन खोजेको हो ।
चलचित्रको निर्देशन तथा पटकथा कृष्ण प्रसाद गौतमको रहने बताइएको छ । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठान अध्यक्ष समेत रहेका निर्देशक गौतमले श्रीकृष्ण चलचित्र निर्माणको तयारी सुरु भइसकेको जानकारी दिए । केही प्रक्रिया पुरा गरेर छायाङ्कन सुरु गर्ने तयारी गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाङ्कन कास्की, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँमा हुनेछ । करिब ८० जना कलाकार प्रत्यक्ष रहने बताइएको छ ।
चलचित्रमा शिव पराजुलीको मुख्य भूमिका रहने छ । अन्य कलाकारको बारेमा विस्तृत जानकारी केही समयमा सार्वजनिक गरिने निर्देशक गौतमले बताए । श्रीकान्त सिग्देलको छायाङ्कनमा बन्ने चलचित्रको निर्माता कृष्ण विश्वकर्मा र तुलसी अधिकारी हुन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शन गर्ने तयारीका साथ काम गर्न लागिएको गौतमले जनाए ।
