पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लुटतन्त्र, आगजनी र व्यक्ति जलाएर लोकतन्त्र खोसौँला भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । आइतबार गण्डकी प्रदेशसभाका बर्खे अधिवेशन प्रारम्भ भएको दिनमा आफ्नो भनाइ राख्दै उनले नेपालमा आएको गणतन्त्र सामान्य खालको निर्बलियो गणतन्त्र नभएर सबल सक्षम गणतन्त्र भएकोले युग युगसम्म रहने दावी गरे ।

 ‘लुटतन्त्र गरेर, व्यक्तिगत घरमा आगजनी गरेर, व्यक्ति जलाएर लोकतन्त्र खोसौँला भन्ने कसैले सपना देखेको छ भने यो गणतन्त्र सामान्य खालको निर्बलियो गणतन्त्र होइन, सबल सक्षम गणतन्त्र हो, यो युग युगसम्म रहन्छ’ उनले भने । 

गणतन्त्रको बारेमा विकल्प कसैले नसोचे हुने भन्दै यसलाई सुन्दर गणतन्त्र र अझ बढी लोकतन्त्र बनाइने बताए । यो लोकतन्त्र र गणतन्त्र धेरै व्यक्ति व्यक्तित्वको सहादत र बलिदानबाट आएको कुरा कहिल्यै पनि बिर्सन नहुनेमा उनको जोड थियो । 

देशमा केही भएन भन्ने भाष्य गलत भएको भन्दै वर्तमान सरकार निर्माण भए पश्चात रोकिएका अलपत्र परेका विभिन्न योजनाले गति लिएको उनले उल्लेख गरे । 

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका अधिकारीले विगतमा सरकार गठनको लागि मूल्य मान्यता छोडेर गल्ति गरिएको बताए ।

 ‘हामीले गल्ति गरेकै हो । म आज आत्म समीक्षा गर्न चाहन्छु । हामी सरकारका नाममा मूल्य मान्यता पनि अहिले प्रमुख प्रतिपक्ष दलका नेताले कति महसुस गर्नुभएको छ कुन्नी ।’ उनले भने, ‘मूल्य मान्यता पनि हामीले छोड्यौ सांसदको सङ्ख्या पुर्‍याउन खोज्यौ । सरकार बनाउन खोज्यौ ।’

 चालु आर्थिक वर्षको बजेट पनि त्यसको शिकार बनेको उनले बताए । अबको नीति तथा कार्यक्रम निर्माण गर्दा र बजेट ल्याँउदा धेरै कुरामा ध्यान दिनुपर्ने औँल्याए । बजेटमा शिक्षा र स्वास्थ्यमा जोड दिनु पर्नेका उनकाे जोड थियो । भौतिक पूर्वाधार, बाटो, पुल मात्र विकास नभएको भन्दै गाउँमा बाटो, बिजुली पुग्दा र स्कुल राम्रा हुँदाहुँदै समेत बाबुनानीहरू नहुनु चिन्ताको विषय भएको सुनाए । 

प्रदेश सरकारले गरेका केही महत्वपूर्ण कामले प्रदेशको औचित्य पुष्टि गर्दै गएको दावी पनि उनले गरे । जनतामा निराशा नभै आशाको दियो बलेको र त्यसलाई दिगो बनाउन सक्नुपर्ने उनको भनाइ थियो । उनले निर्वाचनलाई सरल बनाउन र जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्ने खाँचो समेत औँल्याए । उनले एमाले माथि झुटो आरोप नलगाउन सत्तारुढ र  प्रतिपक्षी दलका नेता लाई आग्रह समेत गरे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0