पोखरा । नेकपा (एमाले)निकट राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्‌घाटन गर्नुहुने कार्यक्रम छ । उनी बिहान ११ः३० बजे पोखरा आउने तयारी छ । 

प्रधानमन्त्री ओली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए। जनसङ्गठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका छन् । 

महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुने युवा सङ्घ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिए । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । महाधिवेशनबाट अध्यक्षसहित सिङ्गो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ । जेठ ११ सम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार जना प्रतिनिधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0