पोखरा । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले व्यक्तिवादी सोच चुलिएर जाँदा पार्टीमा समस्या भएको बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै उनले त्यो सोच अराजकताको हदसम्म पुगेको उनले दावी गरेका हुन् । त्यसको समाधानका लागि पार्टी सङ्गठन सञ्चालनका कुरामा पुनर्विचार गर्दै गम्भीर समीक्षा गर्नुपर्ने बताए । त्यस्तो समीक्षा केन्द्रले मात्र नभएर वडा देखि जिल्लासम्म हुँदै प्रदेशसम्म गर्नुपर्ने खाँचो औँल्याए ।
प्रवक्ता महतले विगतमा केन्द्रमा मात्र सीमित रहेको त्यो रोग अहिले केन्द्रमा मात्र सीमित नभएर वडासम्म पुगेको बताए । फलस्वरुप केन्द्रले मिलेर गरेका निर्णय समेत जिल्ला र वडाले कार्यान्वयन नगर्ने गरेको उनले सुनाए । यसको समाधानका लागि वडाबाट काम थालनी गर्नुपर्ने बताएका उनले पार्टी बलियो भएमात्र सबै बलियो हुने कुरा नभुल्न नेता तथा कार्यकर्तालाई सचेत गराए ।
उनले अहिले बाध्यात्मक परिस्थितिमा बनेको गठबन्धन सरकार रहेको बताएका प्रवक्ता महतले पार्टी निर्माण सत्तामा जानका लागि भएको भने बिर्सन नहुने प्रष्ट पारे । सरकारमा गएपछि मात्रै पार्टीले आफ्नो नीति कार्यक्रम घोषणापत्र कार्यान्वयन गर्न सक्ने बताए । अहिलेको निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भन्दै उनले संविधान संशोधनको प्रक्रिया तुरुन्तै अघि बढाउनुपर्ने बताए । अहिलेको परिस्थितिमा राष्ट्रिय सभाबाट पारित हुन सम्भव नदेखिएपनि प्रयास भने थाल्नुपर्नेमा उनको जोड थियो ।
सत्तामा पुग्ने बित्तिकै सबै काम हुन सम्भव नहुने बताएका उनले गठबन्धन सरकार र केपी शर्मा ओली जस्तो व्यक्ति प्रधानमन्त्री भएकोले पार्टीका सबैकुरा लागू हुन नसक्ने बताए । अहिलेको गठबन्धनमा आफूहरूका असन्तुष्टि रहेको समेत उनले बताए । पूर्व अर्थ मन्त्री समेत रहेका महतले बजेट निर्माण गर्दा ठूला योजना मात्रै सङ्घले बाँडफाँड गर्नुपर्ने बताए । अहिलेको बजेटमा ३ करोड भन्दा साना योजना नराख्ने भनेर जोडबल गरिरहेका उनले बताए । स्रोत सुनिश्चितता गरेर मात्र योजना समावेश गर्न खोजिएको समेत उनको दावी छ । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ कास्कीका सभापति मनोज गुरुङको अध्यक्षतामा भएकाे सम्मेलनमा कार्यक्रम सञ्चालन सचिव लक्ष्मी प्रसाद पौडेलले गरेका थिए ।
