पोखरा । तमु धिं नेपालले ४१ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा आइतबार पोखराका मुख्य चोक र सडकहरूको सरसफाइ गरेको छ । सोमबार ४१ औँ स्थापना दिवस मनाउन लागेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पोखराको चिप्लेढुङ्गादेखि महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपालको केन्द्रिय कार्यालयसम्म सरसफाइ गरेको हो ।

 तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विविध कार्यक्रमहरू गर्दै आएकोमा यसवर्ष पर्यटनको राजधानी पोखराको वातावरण स्वच्छ पार्नका लागि सरसफाइ गरिएको जानकारी दिए । सरसफाइ कार्यक्रममा तमु धिं नेपाल, तमु धिं नेपाल आमा समिति र युवा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । 

तमु धिँ नेपालले सोमबार सम्मान, शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमसहित ४१ औँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा तमु धिं नेपालका प्रमुख सल्लाहकार तथा शिक्षाविद् गणेश बहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट एक लाख एघार हजार एक सय एघार रुपैयाँसहित मेजर दिल बहादुर गुरुङलाई सम्मान गरिने अध्यक्ष  तमुले जानकारी दिए । सोही अवसरमा तमु धिंमा स्थापना गरिएको गोलघरको समेत उद्‌घाटन गरिने छ । 

 स्थापना दिवसको अवसरमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको उपस्थिति हुनेछन् । तमु धिं नेपालले स्थापना दिवसको कार्यक्रममा उपस्थित हुन समेत आग्रह गरेको छ । तमु धिं नेपालको स्थापना वि.सं. २०४२ जेठ ५ गते भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0