पोखरा । श्रृङ्खलाबद्ध चोरी तथा डकैती गर्ने नातेदारहरूको एक समूहलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । सातौँ पटकको प्रयासमा उक्त समुहलाई समात्न प्रहरी सफल भएको हो । कास्की र तनहुँका विभिन्न ठाउँमा सङ्गठित रुपमा मिलेर उनीहरूले ६९ लाख रुपैयाँ भन्दा बढीको गरगहना र नगद चोरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीमा संलग्न र चोरीको सामान खरीद गर्ने सुनचाँदी व्यवसायीसमेत डाँका तथा चोरी समूहका ५ सदस्यलाई शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेका २६ वर्षीय सुवास बिक, २३ वर्षीय विमल बिक, शुक्लागण्डकी–११ का २२ वर्षीय गणेश सुनार, स्याङजा पुतलीबजार नगरपालिका–९ काल्खु घर भई पोखरा–२ बस्ने ३३ वर्षीय सुरेश बिककाल्खु घर भई पोखरा–१० बस्ने ५३ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् । उनीहरूलाई वैशाख २६ गते यता विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘कटप्पा’ समूह भनेर चिनिने यो समूहले पोखरामा केन्द्रित रहेर डकैती धन्दा चलाउँदै आएको प्रहरीको आरोप छ।

पक्राउ परेकाहरूको साथबाट औँठी, सुनको ढिक्का, पोते, माला, मंगलसुत्र, छड्के तिलहरीसहित १२ तोला ८ लाल सुनका गरगहना बरामद भएको शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख एसपी ओलियाले बताए । उनका अनुसार औँठी, सिक्री, बाला, पाउजु, चुरीलगायत २४ तोला बराबर चाँदीका गरगहना र चोरी गर्न प्रयोग हुने सामान पनि बरामद भएको छ । यो समुहले ६९ लाख ३ हजार २ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको जाहेरी प्रहरीमा परेको थियो । जाहेरी आउने क्रम जारी रहेकाले उनीहरू संलग्न चोरीका घटना र चोरी भएको धनमाल बढ्न सक्ने प्रहरीको भनाई छ ।

पक्राउ परेका सुवास र दुर्गाबहादुर नाताले मामा–भान्जा हुन् । सुवासले चोरीका गरगहना दुर्गाबहादुरको पोखरा–१० रामबजारस्थित स्याङ्जा कोल्माकोट सुनचाँदी पसलमा ल्याएर दिन्थे । पक्राउ परेका विमल सुवासको ठूलोबुवाका छोरा हुन् । विमलले सुवासलाई चोरी गर्न लैजाने–ल्याउने गर्थे । यसैगरी चोरीमा प्रयोग हुने ग २२ प ४९८९ नम्बरको मोटरसाइकल पनि चोरीकै रहेको खुलेको छ । यो मोटरसाइकल सुवासलाई उनका दाइले दिएका थिए । दाइ नरबहादुर बिक हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा छन् । घटनामा संलग्न गणेश र सुरेश योजनाकार सुवासका फुपूका छोरा हुन् । यो समुहले सिसिटिभी नभएका ठाउँमा चोरी गर्ने, गरगहना र नगद मात्र चोर्दै आएको थियो । उनीहरूले पोखरा महानगरपालिकाभित्र ९ ठाउँ र तनहुँका ३ ठाउँमा चोरी गरेको प्रारम्भिक बयान दिएको प्रहरीको दावी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार सुवासले चोरी गरेकै कसुरमा ५ वर्ष कैद र ३ लाख ५० हजार जरिवाना यसअघि भुक्तान गरेको पाइएको छ । ०७४ असार १४ मा कास्की जिल्ला अदालतले सुनाएको कैद सजाय भुक्तान गरेर उनी ०७९ जेठ १० मा छुटेका थिए । त्यसपछि बैदेशिक रोजगारीका लागि कतार गएका उनी ३ महिनामै फर्किएका थिए । फर्किएपछि दाजु–भाइ र मामासँग मिलेर फेरि चोरीमा संलग्न भएका हुन् । यसैगरी सुनचाँदी पसल सञ्चालक दुर्गाबहादुरमाथि ०५७ र ०६४ मा जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक मुद्दामा, ०८० मा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाले चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । चोरीमा प्रयोग गर्ने मोटरसाइकल र ग २१ प ६७५३ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0