पोखरा । गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । यसपालि एकैचोटी वर्ष २०८१ का लागि पाठक र वर्ष २०८२ का लागि अधिकारीलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घ कास्कीले शुक्रबार स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्ती पारेर पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरे । दुबै पत्रकार दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोर्ट्स अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगायतबाट सम्मानित भइ सकेका छन् । क्रियाशील पत्रकार महिला समुह गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत रहेकी अधिकारी निजी रेडियोहरूको छाता सङ्गठन वानका केन्द्रिय उपाध्यक्ष हुन । आमसञ्चार र पत्रकारिता एवम् समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी यस अघि राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चमबाट विभूषित, नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा स्थापित स्व.जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगायतका पुरस्कारबाट सम्मानित भइ सकेकी छन् ।
पाठक विशेषगरी खेलकुद पत्रकारितामा सक्रिय छन् भने अधिकारी रेडियो सफलता १०३.४ मेगाहर्जमा आवद्ध छन् । २०५४ सालदेखि वितरण थालिएकोमा यसअघि २७ पत्रकार पुरस्कृत भइसकेका छन । पछिल्लो समय ३ लाख थपेर कुल ४ लाखको अक्षयकोष स्थापना गरी राष्ट्रियस्तरको पुरस्कार बनाइएको स्व. भण्डारीका कान्छा सुपुत्र सन्तोष भण्डारीले बताए ।
समारोहमा बोल्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा पत्रकारिताले अविस्मरणीय भूमिका खेलेको बताए । प्रविधिको विकाससंँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको बताउँदै डिजिटल मिडियाको सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता बढाउन पत्रकार स्वयम् क्रियाशील हुनुपर्ने बताए । प्रेस स्वतन्त्रता सेनानी एवम् महासङ्घ कास्कीका पूर्व अध्यक्ष माधव शर्माले सृजनशीलता सँगै पत्रकार निर्भिक हुनु पर्ने बताए । स्वतन्त्रताको परिभाषा आवारापन नभएको बताउँदै पत्रकारितामा संयमता सहितको स्वतन्त्रताको आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अङ्गको रुपमा परिभाषा गरे पनि आमसञ्चार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गरे । कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय सहित शुभकामना दिए । सम्मानित केशव पाठक र दुर्गा अधिकारीले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशील हुने उर्जा मिलेको बताउँदै आभार प्रकट गरे । महासङ्घ कास्की अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भूपाल गुरूङले गरेका थिए ।
