पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ ।  आयोजकका अनुसार शनिवार ३३ जिल्लाबाट भक्तजन आउने छन् ।

महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजी शनिवार मात्रै  एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको जानकारी दिए । उनका अनुसार शनिवार देशभरबाट ५ सय बढी बसमा कोटिहोममा भक्तजनको आगमन हुन लागेकोले पनि कोटिहोममा भोलि भक्तजनको उपस्थिति उल्लासमय हुने विश्वास लिइएको छ ।

कोटिहोममा शनिवार सुमेरु पिठाधीश्वर जगद‌्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराज आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

उनका अनुसार जगद‌्गुरु शङ्कराचार्यसहित वाल सन्त आचार्य जेठ ३ गते देखि ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । उनीहरूले कोटिहोममा प्रवचन गर्नेछन् । 

कोटिहोममा शुक्रबार चर्चित गायिका एलिना चौहान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए। जेठ ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी बास्सैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

कोटिहोममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव श्रीनाथ बरालले पोखरामा सबै खालका पर्यटन भित्राउन कोटिहोमले सहयोग गरेको बताए । ‘सुन्दर नगरी पोखरा पर्यटकीय राजधानीको रुपमा परिचित छ’ उनले भने, ‘कोटिहोमले धार्मिक पर्यटन मात्र नभई सबै खालका पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलको छ ।’ उनले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिको उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टी साथमै रहेको विश्वास दिलाए । त्यसै गरी खुश्वु ओलीले हिन्दु धर्म सङ्कटमा परेको वेला यति ठुलो महायज्ञ लगाएर धर्मको रक्षा गरेकोमा आभार व्यक्त गरिन् । गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले ऐतिहासिक कोटिहोममा आफू साक्षी हुन पाउँदा सुखद अनुभव भएको बताइन् । 

कोटिहोममा चलचित्र निर्देशक तीर्थ बहादुर थापा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सीता पौडेल, प्रदेश कमिटी उपाध्यक्ष मुक्ति पौडेल, प्रदेश कमिटी सचिवालय दानी शर्मा बराल, कास्की जिल्ला अध्यक्ष खड्का हमाल, प्रदेश सदस्य सरस्वती ठकुरी, प्रदेश सदस्य मिना शाही ठकुरी, प्रदेश सदस्य प्रेम थापा, वडा नं. १७ का उपाध्यक्ष इशारा थापा, हरिहर मन्दिरका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, समाजसेवी शारदा पङ्गेनी अर्याललगायतको उपस्थिति रहेको थियो। 

कोटिहोममा शुक्रवार धुर्कोट गाउँपालिका–५ गुल्मीकी श्यामकला भण्डारीबाट ५१ हजार १ सय ५५, पोखरा–७ रत्न चोक निवासी कमला कार्की र उनका परिवारले २१ हजार ५५, सितागंगा नगरपालिका वडा नं. ३ अर्घाखाँचीका कुलराज पौडेलले ११ हजार १ सय ५५ गाउँ सुधार आमा समूह स्याङ्जाबाट ११ हजार १ सय ११, पुतली बजार– ११ स्याङ्जाकी रुकी अर्यालले १६ हजार, चिन्तनशील आमा समूह पोखरा– ५ बाट १५ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

यसैबिच जेठ ४ गते आइतबार नवलपुरबाट १ सय भन्दा बढी थारुहरूले आफ्नो विशेष प्रस्तुति लिएर आउन लागेको सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहभागी हुन आउने थारुहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0