पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब केही दीनमा फेवातालमा भएको दोहन रोक्न सर्वोच्च अदालतले गरेको आदेश हुबहु कार्यान्वयन गरिने बताएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ इन्टरनेसनल मिडिया समिटको दोस्रो दिनको कार्यक्रमको पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
आफ्नो अध्यक्षतामा बनेको फैसला कार्यान्वयन सहजीकरण समितिले महानगरपालिकाको सहकार्यमा काम गरिरहेको बताएका मुख्यमन्त्री पाण्डेले प्राविधिक काम सकिएकोले अब केवल व्यवहारिक कामहरू मात्र गर्न बाँकी रहेको खुलाए । व्यवहारिक कामका लागि फिल्डमा जाने बताएका उनले त्यो दिन पनि धेरै नजिक आइसकेको प्रष्ट पारेका छन् । सर्वोच्च अदालतले फेवाताल बचाउनका लागि गर्नुपर्ने काम जे भनेको छ त्यसको कार्यान्वयन केही दिन भित्र हुने दावी गरे ।
मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनबाट हामीले भोगेका छन् यसलाई संसारको ध्यान आकर्षित गर्नको लागि लोमान्थाङ इन्टरनेसनल मिडिया समिटले ठूलो मद्दत पुग्ने विश्वास गरे । जलवायु परिवर्तनले पारेका असरहरूको बारेमा र यसमा गर्नुपर्ने कामहरूको बारेमा समेत एक पटक फेरि फर्कने वातावरण सिर्जना गर्ने उनको अपेक्षा थियो ।
पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मापदण्डको पालना गरेर फेवातालको बचाउने क्रममा रहेको भन्दै अब पोल गाड्ने क्रम सुरु हुने बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पहिलोपटक इन्टरनेसनल मिडिया समिट आयोजना गर्नको लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट पाएको साथ महत्वपूर्ण रहेको बताए ।
उद्घाटन सत्रमा ‘इन्टर नेशनल फेडेरेसन अफ जर्नालिजम’ (आईएफजे)की उपाध्यक्ष सविना इन्दरजीत, कार्यक्रम संयोजक लोकराज अवस्थी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घ गण्डकी अध्यक्ष रमेश पौडेल, होटल एशोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, महासचिव दिलिप पौडेल, गण्डकी प्रदेश अध्यक्ष टङ्क अधिकारी लगायतले मिडिया समिट र नेपालको पत्रकारिता क्षेत्रको बारेमा बोलेका थिए ।
उद्घाटन सत्र पश्चात तीनवटा प्यानल डिस्कसन कार्यक्रम गरिएको थियो । ‘जलवायु सङ्कट र पत्रकारिता’ ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ एवं ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको बताइएको छ । नेपालमा पहिलोपटक आयोजना गरिएको यो समिटको सुरुवात शनिबार काठमाण्डौबाट गरिएको हो । जसको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका थिए । वैशाख ३० गते लोमान्थाङ पुगेर घोषणापत्र जारी गर्दै समिट समापन गरिनेछ । समिटमा सहभागी बनेका विभिन्न देशका पत्रकार समेत पोखरा आएका छन् ।
